एमालेले फरक गर्ला ?

559

सम्पादकीय ।

जिल्लामा क्रियाशील तिनवटै राजनीतिक दलहरु आफ्नो संगठन बलियो बनाउने धाउन्नमा छन् । महाअधिवेशन कै लागि भएपनि तिनै दलहरुले स्थानीय तहको नेतृत्व चयन गरेका छन् । माओवादी केन्द्रले जिल्ला कमिटिलाई प्राथमिकतामा नराखेको तर काँग्रेस र एमालेको संगठनात्मक स्वरुपमा जिल्ला कार्यसमिति र कमिटि यथावथ रहेकाले दुबै पार्टीले जिल्ला तहलाई निक्कै महत्त्व दिएका छन् ।

नेपाली काँग्रेसले जिल्ला कार्यसमितिको चयन मतदान प्रक्रियाबाट टुङ्ग्याई सकेको छ भने एमाले जिल्ला कमिटि चयन गर्ने तयारीमा छ । यो बीचमा नेकपा समाजवादी र राप्रपाले पनि आफ्नो जिल्ला तहको नेतृत्व चयन गरेको छ । सबै पार्टीहरुले नेतृत्व चयन गर्दा आफ्नो नीति कार्यक्रमभन्दा पनि व्यक्तिगत प्रभावका रुपमा नेतृत्व चयन गरे । अहिलेसम्म आफ्नो जिल्ला तहको नेतृत्व चयन गरेका दलका उम्मेदवारहरुले आफ्नो नेतृत्व कुन नीति कार्यक्रम लागू गर्न आवश्यक छ भनेर मदतालाई सार्वजनिक रुपमा आह्वान गरेका थिएनन् । आन्तरिक रुपमा आफ्नो प्राभाव र भविष्यमा हुने फाइदाहरुको विश्लेषण गरेर नेतृत्व चयन गरेको ती दलका नेताहरुले सार्वजनिक रुपमै भन्दै गर्दा ती दलका शुभचिन्तक वा अन्यले नीति र कार्यक्रम मागेको पनि देखिएन । कार्यकर्ता, समर्थक, शुभचिन्तकहरुले नै नेतृत्व लिन खोज्ने व्यक्तिसँग नीति तथा कार्यक्रम नमागेपछि नेतृत्व लिन खोज्नेलाई सञ्चो हुने नै भयो ।
काँग्रेस, माओवादी, राप्रपा, समाजवादी पार्टीले आफ्नो नेतृत्व छान्दा नीति र कार्यक्रमको कुरा गरेनन् । एमालेले आफ्नो जिल्ला नेतृत्व छान्दा नेतृत्व लिन दाबि गर्ने व्यक्तिले आफ्नो नीति कार्यक्रम सार्वजनिक गर्लान् वा एमालेका नेता कार्यकर्ताले आफ्नो नेतृत्वलाई नीति कार्यक्रमका आधारमा छनोट गर्ने सर्त राख्लान् या अन्य पार्टीहरुले जस्तै एमालेले पनि आफ्नो जिल्ला नेतृत्व प्रभावका आधारमा छनोट गर्ला ? यी प्रश्नहरुको उत्तर केही दिनमै आउने छ । एमालेको जिल्ला नेतृत्व लिन खोज्ने व्यक्तिले आफ्नो दाबि यो कारणले भन्ने सार्वजनिक गर्न सकेनन् र एमाले नेता कार्यकर्ताहरुले पनि नेतृत्व लिन चाहनेको नीति कार्यक्रम र आगामि योजना माग्न सकेनन् भने अरु दलभन्दा भिन्न देखिने छैन । यद्यपि अरु दलभन्दा भिन्न हुने, देखिने बाध्यता एमालेलाई नहोला तर युवाहरुलाई दलहरुमा पृथकता नदेखिए कै कारण दल छनोट गर्न समस्या भएको कुरा सुनिन थालेको छ । नयाँ युवाहरुको यो आशलाई सम्बोधन गर्न कै लागिभन्दा पनि प्रष्ट नीति कार्यक्रममा पार्टी सञ्चालन गर्न आफ्नो नीति, कार्यक्रम र योजनाका साथ नेतृत्वको दाबि गरियो भने त्यसले कार्यकर्तामा नयाँ जोस भर्ने र त्यसले पार्टीलाई नयाँ गति दिने कुरातर्फ दलका नेताहरुको ध्यान जान सकेको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस् !