एमालेमा सुदूरपश्चिम झनै उपेक्षित

0
600

दार्चुला, पुष २२ गते ।
नेकपा (एमाले)को बागडोर केपी ओलीले एकलौटी सम्हालेपछि एमालेमा सुदूरपश्चिम झनै उपेक्षित भएको छ । यसअघि सुदूरपश्चिमबाट शीर्ष वरियतामा रहदैआएका भीम रावल दशौं महाधिवेशनपछि पाखा लगाइएका छन् । रावल एमालेका उपाध्यक्षको जिम्मेवारीमा रहदासम्म शीर्ष नेतृत्वपंक्तिमा देखिन्थे । राष्ट्रिय राजनीतिमा पनि सक्रिय र प्रभावकारी भूमिकाका कारण भीम रावलको हैसियत उच्चतहकै थियो ।

एमाले उपाध्यक्षबाट भीम रावलको विदाइपछि भने सुदूरपश्चिम प्रदेशको नेतृत्व लेखराज भट्टले गर्न पाएका छन् । यद्यपि दशौं महाधिवेशनपछि निर्धारण भएको नेताहरुको वरियताक्रममा सुदूरपश्चिमका कमाण्डर भट्टको स्थान चौधौं नम्बरमा छ । एमालेको १९ सदस्यीय पदाधिकारीमा लेखराज सुदूरपश्चिमबाट एक्ला पात्र हुन् । कम्युनिष्ट पार्टीमा भूगोल, जाती, भाषा र धर्मको प्रतिनिधित्वभन्दा पनि नेतृत्वको क्षमताले स्थान पाउने तर्क पनि आउन सक्छ तर नेपालको राजनीतिक परिवेशमा वर्गिय चरित्र र क्षमताको आधारमा नेतृत्व चयन आदर्श मात्रै छ ।
ओली नेतृत्वको ३ सय ४५ सदस्यीय एमालेको केन्द्रीय कमिटीमा सुदूरपश्चिमका २९ नेताहरु अटाएका छन् । पार्टीको सर्वोच्च निकाय ४५ सदस्यीय स्थायी कमिटीका सचिव लेखराज भट्ट र कर्णवहादुर थापा अटाएका छन् । वरियताक्रममा १४ नम्बरमा भट्ट छन् भने थापाको वरियताक्रम ४० नम्बरमा छ ।
१९ पदाधिकारीसहितको ४५ सदस्यीय सिंगो स्थायी कमिटी अटाएको ९९ सदस्यीय पोलिटब्युरोमा लेखराज र कर्ण थापाबाहेक सुदूरपश्चिमका ६ जना सदस्य बनेका छन् । पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोमा प्रदेश भूगोलको समानुपातिक प्रतिनिधित्व देखिदैन । ३ सय ४५ सदस्यीय केन्द्रीय कमिटीमा पनि सुदूरपश्चिमका २९ जना मात्रै नेता समेटिएका छन् ।
९९ सदस्यीय पोलिटब्युरोमा कञ्चनपुरका राजेन्द्र सिंह रावल, कैलालीका नादरमुनि राना, दार्चुलाका गणेश सिंह ठगुन्ना, डोटीका गौरी ओली, कञ्चनपुरका निरुदेवी पाल र कैलालीका लीला भण्डारी समेटिएका छन् । पोलिटब्युरोमा समेटिएका सुदूरपश्चिमका नेताहरु वरियताक्रममा सबैजना क्रमसंख्या ५० भन्दापछि छन् । ५० नम्बरमा रावल, ५१ मा रावल, ५९ मा ठगुन्ना र ६७ नम्बरमा गौरी ओली पोलिटब्युरो सदस्य बनेका छन् । निरुदेवी पाल ६८ नम्बरमा र लीला भण्डारी ७० नम्बरमा पोलिटब्युरोको मर्यादाक्रममा छन् ।

२९ मध्ये २८ लाई सुदूरकै जिम्मेवारी

नेकपा एमालेको केन्द्रीय कमिटीमा रहेका २९ जना सदस्यमध्ये २८ जनालाई सुदूरपश्चिम प्रदेशको भूगोलकै जिम्मेवारी दिइएको छ । पुष १ गते जारी अन्तरपार्टी निर्देशनमा केन्द्रीय सदस्य झपटवहादुर रावलबाहेक सबैलाई सुदूरपश्चिममै भूगोलको जिम्मेवारी बाँडफाँड गरिएको छ ।
पदाधिकारीमा रहेका सुदूरपश्चिमका एक्ला नक्षत्र लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । स्थायी कमिटी सदस्य रहेका अर्का नेता कर्णवहादुर थापालाई प्रदेश सहइन्चार्ज तोकिएको छ । थापा यसअघि एमालेका पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष दुबै जिम्मेवारीमा थिए ।
एमालेको पोलिटब्युरो सदस्य बनेका सुदूरपश्चिमका नेताहरुमध्ये राजेन्द्र सिंह रावललाई प्रदेश सहइन्चार्जको जिम्मेवारी दिइएको छ । कर्णवहादुर थापा र रावलसंगै गणेश सिंह ठगुन्ना र लीला भण्डारीलाई पनि सुदूरपश्चिमको सहइन्चार्ज बनाइएको छ । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ठगुन्नालाई दार्चुला जिल्ला इन्चार्जको पनि जिम्मेवारी दिइएको छ । पोलिटब्युरोमा पर्न सफल नारदमुनि रानालाई कैलाली जिल्ला इन्चार्ज बनाइएको छ ।
कैलालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहनुभएका झपटवहादुर रावललाई भने भूगोलको जिम्मेवारी दिइएको छैन । सुदूरपश्चिमको भूगोलबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने २८ जनालाई त्यही भूगोलमा पार्टीको जिम्मेवारी दिइदा रावललाई भने खानेपानी तथा सरसफाई विभागको प्रमुख बनाइएको छ । धेरैजसो केन्द्रीय सदस्यहरुलाई आफ्नो गृहजिल्लाको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारीमा राखिएको छ ।

तीन जिल्लामा ‘सिङ्गल कमाण्डर’

एमालेको नयाँ कार्यविभाजन अनुसार सुदूरपश्चिमका ३ जिल्लामा एक÷एकजनालाई नै पार्टीको एकल जिम्मेवारी दिइएको छ । दार्चुला, डडेल्धुरा र डोटीमा एकजनालाई मात्रै पार्टीको सम्पूर्ण जिम्मेवारी दिइएको छ । यी जिल्लाहरुमा जिल्ला इन्चार्ज मात्रै तोकिएका छन् भने सहइन्चार्ज राखिएका छैनन् ।
कार्यविभाजन अनुसार दार्चुलामा गणेश सिंह ठगुन्ना, डडेल्धुरामा पठान सिंह बोहरा र डोटीमा गौरी ओली जिल्ला इन्चार्ज रहेका छन् । जिल्ला इन्चार्जहरुलाई नै जिल्लाभित्र पार्टीको सम्पूर्ण कमाण्ड गर्न जिम्मेवारी दिइएको छ । ठगुन्ना र ओली प्रतिनिधिसभा सदस्य तथा बोहरा प्रदेशसभा सदस्य समेत हुनुहुन्छ ।
बैतडी र अछाममा जिल्ला इन्चार्जसंगै एक÷एक जना सहइन्चार्ज पनि तोकिएका छन् । बैतडीमा पुरन सिह दयाल इन्चार्ज तथा लीलाधर भट्ट सहइन्चार्ज छन् भने अछाममा झपटवहादुर बोहरा इन्चार्ज र यज्ञ बोगटी सहइन्चार्ज रहेका छन् ।
कैलालीमा नारदमुनि राना जिल्ला इन्चार्ज तोकिदा कमलाकुमारी ओली र गौरीशंकर चौधरी सहइन्चार्ज राखिएका छन् । बाजुरामा प्रतिनिधिसभा सदस्य समेत रहनुभएका लालवहादुर थापालाई जिल्ला इन्चार्ज र दयालवहादुर शाही, प्रकाशवहादुर शाह तथा सहदेव बोगटीलाई सहइचार्ज बनाइएको छ ।
बझाङमा भैरव वहादुर सिंह जिल्ला इन्चार्ज तथा अफिलाल ओखेडा, आशाकुमारी विक र ऐनवहादुर महर जिल्ला सहइन्चार्ज रहेका छन् । जिल्ला इन्चार्ज सिंह प्रतिनिधिसभा सदस्य समेत हुनुहुन्छ ।
कञ्चनपुरमा निरुदेवी पालको इन्चार्जसीपमा ४ जना जिल्ला सहन्चार्ज रहेका छन् । इन्दु कडरिया, कमला बोहरा, कृपाराम राना र नरवहादुर धामीलाई कञ्चनपुरको सहइन्चार्ज तोकिएको छ । प्रतिनिधिसभामा समानुपातिकतर्फबाट सांसद रहेका निरुदेवी पाल जिल्ला इन्चार्ज बनाइदा कञ्चनपुर—२ बाट काग्रेसका नेता एनपी सावदलाई हराउने प्रतिनिधिसभा सदस्य नरवहादुर धामीलाई जिल्ला सहइन्चार्ज बनाइएको छ ।
एमालेको दशौं महाधिवेशनले ३ सय १ सदस्यीय केन्द्रीय कमिटी चयन गरेकोमा अध्यक्ष केपी ओलीको प्रस्तावमा ४४ जना सदस्य थपिएका छन् । मंसिर २८ गते बसेको केन्द्रीय कमिटीको बैठकले ओलीको प्रस्तावलाई एकमतले अनुमोदन गरेको छ ।
ओलीले खुलातर्फ २० जना केन्द्रीय सदस्य मनोनित गर्दा सुदूरपश्चिम प्रदेशका २ जनाले स्थान पाएका छन् । मनोनितमध्ये क्रमसंख्या ३ मा बझाङका ऐन महर र क्रमसंख्या ९ मा अछामका यज्ञ बोगटी रहेका छन् । यसैगरी, एकता र एकीकरणको प्रक्रियाअन्तर्गत भन्दै थपिएका ९ जना केन्द्रीय सदस्यमध्ये सुदूरपश्चिमबाट बाजुराका सहदेव बोगटी समेटिएका छन् ।
केन्द्रीय कमिटीले मनोनित गरेका १५ जना महिलामध्ये बझाङका आशा विक केन्द्रीय सदस्य हुने सुदूरपश्चिमका एक्ला महिला नेतृ बनेका छन् । अध्यक्ष ओलीको प्रस्तावमा सुदूरपश्चिम प्रदेश कमिटीमा दामोदर भण्डारी अध्यक्ष, कमल तिमिल्सिना उपाध्यक्ष, धर्मराज पाठक सचिव तथा बलदेव रेग्मी र भागरथी विष्ट उपसचिव बनेका छन् । प्रदेश अध्यक्ष बनेका भण्डारी बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत हुन् । भण्डारी ओलीका विश्वासपात्र मानिन्छन् ।
कञ्चनपुरबाट रमेश लेखकलाई हराउदै प्रतिनिधिसभा सदस्य बनेका डा. दिपकप्रकाश भट्टलाई भने केन्द्रीय कमिटीमा स्थान दिइएको छैन । पुराना नेता महेश्वर पाठक र हिमाञ्चल भट्टराई पनि केन्द्रीय कमिटीमा अटाएनन् ।