एमालेको लक्ष्यः निर्वाचन

0
715

सम्पादकीय
सत्तरी सालको आम निर्वाचनमा जित हाँसिल गरेपछि एमाले दार्चुलाले पचासको दशकको जित मात्रै दोहोर्याएन आम कार्यकर्तामा नयाँ किसिमको उर्जा पनि प्रवाह गर्यो ।

पहिलो संविधान सभा निर्वाचनमा नेकपा माओवादीले जित हाँसिल गरेको दार्चुलामा दोस्रो संविधान सभाको निर्वाचन एमालेले जित्नु त्यति सहज थिएन । कयन नेता कार्यकर्ताले निर्वाचन जितिन्छ भन्ने सोचेका समेत थिएनन् तर तिनै नेता कार्यकर्ताको महत्वपूर्ण र विशिष्ठ खटनले एमालेले दोस्रो संविधान सभाको निर्वाचन जित्यो । एकातिर माओवादीको जबरजस्त प्रस्तुति अर्कातिर नेपाली काँग्रेसको केन्द्रीय राजनीतिमा समेत आफ्नो स्थान बनाएका काँग्रेस नेतासँग अघिल्लो संविधान सभाको निर्वाचन हारेका एमाले नेताले जित्नु चानचुने कुरा थिएन । त्यो जितलाई पछिल्लो पटक प्रतिनिधि सभा सदस्यको लागि भएको निर्वाचनले निरन्तरता दियो तर जितको निरन्तरतामा माओवादी केन्द्रको विशेष हात रह्यो । एमाले र माओवादीको एकीकरण हुने घोषणासँगै भएको निर्वाचनमा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यले निर्वाचन जित्ने कुरालाई नेता कार्यकर्ताहरुले पनि सहजताका साथ लिएका थिए । यद्यपि नेपाली काँग्रेसको जबरजस्त उपस्थिति, उसले सांगठनिक क्षेत्रमा गरेको सुधार र दुई पटकको हारको बदला लिन नेपाली काँग्रेसका कार्यकर्तामा देखिएको उत्साहले निक्कै चुनौति दिएको विश्लेषण एमाले नेताहरुले नगरेका होइनन् ।
संघीयता कार्यान्वयनपछिको पहिलो प्रतिनिधि सभा सदस्यको निर्वाचनको पृष्ठभूमिमा स्थानीय तहको निर्वाचन र पार्टी एकताको उत्साहका बीच भएकाले एमालेलाई जित्न सजिलो मात्रै भएन माओवादीसँग एकताको कुराले एमालेका पूराना कार्यकर्तालाई एमाले नेतृत्वले बिर्सिएको गुनासो पनि सुनिन थाल्यो । एमालेमा रहेका युवाहरुले पनि एकतालाई सकारात्मक रुपले लिदै पार्टीले जस्तो जिम्मेवारी दिए पनि स्वीकार गर्ने र सोही किसिमले अगाडि बढ्ने सोच बनाए । माओवादीका नेता कार्यकर्ताहरुको पार्टीमा बाहुल्यता भयो । पार्टी संगठनका कार्यहरु निस्तेज भए । पार्टी पूर्णतः सरकार केन्द्रित हुन थाल्यो । नेता कार्यकर्ताहरु योजना र कार्यक्रममुखी भए । पचासको दशकको अन्तिमतिरको जस्तो संसदीय व्यवस्थाका दुष्चक्र मात्रै नभएर कार्यकर्ताहरुमा योजनामुखि, जागिरमुखि प्रवृत्तिहरु दोहोरिए । माओवादीको छायामा परेका एमालेका कार्यकर्ताहरुलाई एमालेको नेतृत्वले हेर्न नसकेको गुनासोहरु व्यापक हुन थाल्यो । उता नेपाली काँग्रेसले वडातहसम्म आफ्नो संगटन बिस्तार गर्यो । स्थानीय तहमा पाएको उत्साहपूर्ण जितलाई उसले नयाँ शक्तिका रुपमा ग्रहरण गर्यो र प्रष्ट रुपमा कार्यकर्ता संरक्षणमा लाग्यो ।
एकातिर बिगतमा एमाले नेतृत्वले नै साथ नदिएको तुस एमाले कार्यकर्ताहरुमा देखिन्छ भने अर्कातिर वडातहसम्म बलियो देखिएको काँग्रेससँग निर्वाचनमा प्रतिश्पर्धा गर्नु पर्ने अवस्थामा निकट भविष्यमा हुने निर्वाचन कसरी जित्ने भन्ने योजनामा एमाले नेता कार्यकर्ता लागेको हुनु पर्दछ ।