एघार महिनापछि मर्यादाक्रम हेरफेर

2188

दार्चुला, पुष २७ गते ।
नेपाल सरकारले ११ महिनापछि राष्ट्रिय जीवनका व्यक्तित्वहरुको मर्यादाक्रममा हेरफेर गरेको छ । २०७४ माघ २६ गते मर्यादाक्रम परिमार्जन गरिएकोमा पुष तेस्रो हप्ता बसेको मन्त्रिपरिषद् बैठकले हेरफेर गरेको हो ।
राष्ट्रिय जीवनका पदाधिकारीहरुको मर्यादाक्रमप्रति जनप्रतिनिधिहरुको असन्तुष्टि रहेकोमा सरकारले परिमार्जन गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मर्यादाक्रम परिमार्जन भएको पुष्टि गरेका छन् ।
पुष १९ र पुष २३ गते सम्पन्न मन्त्रिपरिषद् बैठकका निर्णयहरु एक साथ विहिवार सार्वजनिक गर्दै सरकारका प्रवक्ताले नयाँ मर्यादाक्रम सरकारबाट स्वीकृत भएको बताएका छन् । हालसम्मको मर्यादाक्रममा २७ तह रहेकोमा नयाँ मर्यादाक्रममा २१ तह मात्रै राखिएका छन् ।
यस्तो छ मर्यादाक्रमको जोडघटाउ
प्रधानन्यायाधिश, सभामुख र अध्यक्ष एउटै मर्यादामा
नयाँ मर्यादाक्रमअनुसार प्रधानन्यायाधिश, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई एउटै क्रममा राखिएको छ । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो मर्यादामा राखिएको छ । हालसम्मको मर्यादाक्रममा प्रधानन्यायाधिशलाई चौथो तथा सभामुख र राष्ट्रियसभा अध्यक्षलाई पाँचौ क्रममा राखिएको थियो ।
प्रदेशभित्र र प्रदेशबाहिरको मर्यादा फरक
नयाँ मर्यादाक्रमअनुसार प्रदेश प्रमुख र प्रदेश मुख्यमन्त्रीको मर्यादा आफ्नो प्रदेशभित्र र प्रदेश वाहिर फरक हुनेछ । प्रदेश प्रमुखको मर्यादा आफ्नो प्रदेशभित्र छैठौ नम्बरमा राखिएको छ भने प्रदेशबाहिर जादा सम्बन्धित प्रदेशका मुख्यमन्त्रीभन्दा पछि रहनेछ । प्रदेश बाहिर प्रदेश प्रमुखको मर्यादा नेपाल सरकारका मन्त्री र सम्बन्धित प्रदेशका मुख्यमन्त्रीभन्दा पछि हुनेछ ।
मुख्यमन्त्रीको मर्यादा प्रदेशभित्र नेपाल सरकारका मन्त्रीपछि राखिएको छ भने प्रदेश वाहिर हुँदा सम्बन्धित प्रदेशका मुख्यमन्त्रीभन्दा पछि हुनेछ ।
राज्यमन्त्री र सहायक मन्त्रीको बीचमा प्रदेश सभामुख
प्रदेशसभा सभामुखलाई नेपाल सरकारका राज्यमन्त्रीभन्दा तल र सहायक मन्त्रीभन्दा माथि राखिएको छ । यसअघि प्रदेश सभामुखलाई राज्यमन्त्री र सहायकमन्त्री दुबैभन्दा तल राखिएको थियो । नेपाल सरकारको मुख्यसचिव, संघीय संसद्का महासचिव र राष्ट्रबैंकका गर्भनरभन्दा पछि राखिएका प्रदेश उपसभामुखलाई नयाँ मर्यादाक्रमले माथि उचालेको छ ।
प्रदेश उपसभामुखलाई प्रदेश सरकारका मन्त्री, प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य र प्रदेश राज्यमन्त्रीभन्दा पछि राखिएको छ । प्रदेश उपसभामुखलाई मुख्यसचिव र प्रधान सेनापतिभन्दा अगाडि राखिएको छ ।
जिल्लास्तरमा बढी कार्यान्वयनमा आउने मर्यादाक्रम यस्तो छ ः
नयाँ मर्यादाक्रमअनुसार ९ नम्बरमा क्रमशः प्रतिनिधिसभाका सदस्य, राष्ट्रियसभाका सदस्य, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेशसभाका उपसभामुख, प्रदेशसभाका विभिन्न समितिका सभापति, संविधानसभा सदस्य, पूर्व सांसद ।
१० नम्बरमा क्रमशः प्रदेश सरकारका सहायक मन्त्री, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख ।
१२ नम्बरमा क्रमशः प्रदेश सरकारका प्रमुख सचिव ।
१४ नम्बरमा नगरपालिका प्रमुख, १५ नम्बरमा क्रमशः जिल्ला समन्वय समिति उपप्रमुख, गाउपालिका अध्यक्ष, नगरपालिका उपप्रमुख, नेपाल सरकारका सहसचिव, जिल्ला न्यायाधिश, प्रदेश सरकारका सचिव, प्रमुख जिल्ला अधिकारी (राजपत्रांकित प्रथम श्रेणीका), विश्वविद्यालयका सहप्राध्यापक ।
१६ नम्बरमा क्रमशः प्रमुख जिल्ला अधिकारी (द्वितीय श्रेणी), गाँउपालिका उपाध्यक्ष ।
१७ नम्बरमा नेपाल सरकारका उपसचिव वा सो सरहका अधिकृत, प्रमुख सेनानी, प्रहरी उपरीक्षक, विश्वविद्यालयका उपप्राध्यापक ।
१८ नम्बरमा क्रमशः सेनानी, प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी नायव उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत । १९ नम्बरमा नेपाल सरकारका शाखा अधिकृत, सहसेनानी, विश्वविद्यालयका सहायक प्राध्यापक । २० नम्बरमा प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, अनुसन्धान अधिकृत, उपसेनानी । २१ नम्बरमा प्रदेश सरकार तथा स्थानीय तहका तृतीय श्रेणी वा सो सरहका अधिकृत र सहायक सेनानी ।

तपाईको प्रतिक्रिया दिनुहोस् !