एक हप्ताभित्र दुबैतर्फको ढुंगामाटो हटाउने सहमति

0
232

नेपाल–भारतका अधिकारीहरुबाट तटबन्ध निर्माणको स्थलगत निरीक्षण
दार्चुला, माघ २६ गते ।
महाकाली नदी किनारमा भारतले निर्माण गरिरहेको तटबन्ध संरचनाको स्थलगत निरीक्षण गरिएको छ । नेपाल र भारतका अधिकारीहरुले विहिवार संयुक्त स्थलगत निरीक्षण गर्दै नदीको दुबैतर्फ किनारामा थुप्रिएका ढुंगामाटो एक हप्ताभित्र हटाउने सहमति गरेका छन् ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र महाकाली नदी नियन्त्रण आयोजना प्रमुख मनोहरकुमार साहले भारततर्फ थुप्रिएको ढुंगामाटो हटाउने कार्यमा ढिलाइ भएको भन्दै पूर्व सहमतिनअुसार तत्काल कार्य गर्न भारतीय पक्षलाई आग्रह गरेका छन् । महाकालीको प्राकृतिक वहाव अवरोध हुने गरी राखिएका ढुंगा र निर्माण सामग्री एक हप्ताभित्र हटाइसक्न भारतीय पक्षलाई भनिएको आयोजना प्रमुख साहले बताउनुभयो ।
भारतको घट्टेखोला नजिकको क्षेत्रमा नेपालले नदीको वहाव ४० मिटरभन्दा बढी चौडाइ बनाइसकेको आयोजनाले जनाएको छ । यसअघिका छलफल र सहमतिअनुसार भारतीय पक्षबाट कार्यान्वयनमा ढिलाइ देखिएपछि नेपाली पक्षको आग्रहमा विहिवार स्थलगत निरीक्षण गरिएको हो ।
भारतीय पक्षले घट्टेखोलाको सामुन्ने नेपालतर्फको नदी किनारमा थुप्रिएको ढुंगामाटो हटाउन जोड दिएको छ । त्यसक्षेत्रमा भारतले करिब २ सय मिटर लामो तटबन्धको संरचना निर्माण गर्न बाँकी छ । महाकाली नदीको वहाव भारततर्फ भएकोले नेपालतर्फको ढुंगामाटो हटाएर डाइभर्सन गरिदैआएको छ । तटबन्ध निर्माणका लागि बनाइएको डाइभर्सन तटबन्धको संरचना निर्माण सम्पन्न भएपछि हटाउने सहमति भएको छ ।
भारतले तटबन्धको जग निर्माण गरिसकेको क्षेत्रमा नदीको वहाव मध्यभागमा फर्काउन ढुंगामाटो हटाउनुपर्नेमा नेपाली पक्षले जोड दिएको छ । ‘सम्भावित जोखिमलाई ध्यान दिएर हामीले भारतीय पक्षलाई नदी किनारको ढुंगामाटो हटाउन आग्रह गरेका छौं’ प्रमुख जिल्ला अधिकारी उपाध्यायले भन्नुभयो ।
एक हप्ताभित्र दुबैतर्फको निर्धारित क्षेत्रको ढुंगामाटो हटाउने कार्य गरिने र फेरि स्थलगत निरीक्षण गर्ने सहमति भएको छ । भारतीय पक्षबाट धारचुलाका एसडिएम दिवेश शासनी, सिँचाई विभागका इन्जिनियर, निर्माण कम्पनीका प्रतिनिधि र स्थानीयको सहभागिता थियो ।
पूर्व प्रदेशसभा सदस्य गेल्बु सिंह बोहरा, नेपाली काग्रेसका जिल्ला सभापति ललित सिंह बोहरा र नदी नियन्त्रण आयोजनाका इन्जिनियर केशवराज शर्मा पनि स्थलगत निरीक्षणमा सहभागि हुनुहुन्थ्यो ।