एक हप्ताभित्रै महाकालीका दुई पुल उद्घाटन गरिने

282

दार्चुला, माघ २५ गते ।
स्थानीय प्रशासनको लिखित स्वीकृति नभएको भन्दै एसएसवीले बन्द गराएका दुइटा झोलुंगे पुलहरु एक हप्ताभित्रै औपचारिक रुपमा उद्घाटन गरिने भएका छन् । सस्पेन्सन ब्रिज डिभिजनबाट पुल निर्माण कार्य सम्पन्न भएको र आवतजावत गर्न सकिनेबारे लिखित जानकारी प्राप्त भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।
‘डिभिजनबाट पुल सञ्चालनका लागि लिखित सहमति पत्र प्राप्त भएको छ, चाँडै भारतीय पक्षसंग समन्वय गरी दुबै पुलहरु औपचारिक रुपमा सञ्चालन गर्छौ’ प्रजिअ उपाध्यायले भन्नुभयो । यसका लागि भारतीय प्रशासनसंग सम्पर्क र समन्वय भइरहेको उहाँले बताउनुभयो ।
ढिलोमा एक हप्ताभित्रै मलघट्टे र माल गाउँ जोड्ने झोलुंगे पुलहरु सञ्चालनमा ल्याइने जिल्ला प्रशासनले जनाएको छ । व्यास गाउँपालिकाको वडा नम्बर ४ सुन्सेरा र वडा नम्बर २ को मालगाउँ जोड्ने झोलुंगे पुल स्थानीय प्रशासनको लिखित स्वीकृति नभएको भन्दै एसएसवीले सोमबारदेखि बन्द गराएको छ ।
झोलुंगे पुल निर्माण गरिए पनि पुलहरु सञ्चालन गर्न दुबै देशको स्थानीय प्रशासनबाट लिखित स्वीकृति हुनुपर्ने भन्दै एसएसवीले एकतर्फी रुपमा पुल बन्द गरिदिएको छ । यसअघि गत भदौ महिनामा पनि एक हप्तासम्म एसएसवीले झोलुंगे पुल बन्द गरिदिएको थियो ।
ठेक्का प्रक्रियामार्फत निर्माण गरिएका झोलुंगे पुलहरुको प्राविधिक सुपरीवेक्षण र बजेट व्यवस्थापन कार्य नेपाल सरकारको सस्पेन्सन ब्रिज डिभिजनले गर्दैआएको छ । गत जेठ महिनामै पुल निर्माण कार्य सम्पन्न भए पनि सस्पेन्सन ब्रिज डिभिजनले प्राविधिक रिपोर्टसहित पुल निर्माण सम्पन्न भएको जानकारी दिएको थिएन । ललितपुरमा रहेको डिभिजनलाई जिल्ला प्रशासन कार्यालयले मंगलवार पत्राचार गरी पुल निर्माणबारे जानकारी मागेको थियो ।
त्यसअघि व्यास गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरी तत्काल पुल सञ्चालनको समन्वय र पहल गर्न अनुरोध गरेको थियो । नेपाल र भारत दुबै देशको प्रशासनबीच समन्वय गरेर औपचारिक रुपमा पुल उद्घाटन गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
सोमबारदेखि बन्द गरिएको पुलमा एसएसवीले बुधवार दिउसोको समयमा आवतजावत गर्न भने दिएको व्यास गाउँपालिकाका प्रवक्ता उपेन्द्र सिंह धामीले बताउनुभयो । ‘पुलको औपचारिक उद्घाटन भएपछि सहज रुपमा स्थानीयले आवतजावत गर्न पाउनेछन्, अहिले त एसएसवीले तजबिज मै भर पर्नुको विकल्प छैन’ प्रवक्ता धामीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !