एक हप्तादेखि महाकाली लोकमार्ग अवरुद्ध, खलंगामा सामान आयातमा समस्या

704

दार्चुला, भाद्र ७ गते ।
दार्चुला सदरमुकाम खलंगालाई तराई तथा संघीय राजधानी काठमाण्डौसंग जोड्ने एक मात्रै सडक महाकाली लोकमार्ग विगत छ दिनदेखि अवरुद्ध बनेको छ ।

भाद्र २ गते महाकाली नगरपालिका ९ दत्तुको चुन्याभिरमा सडक पहिरोले लग्दा बस, ट्रक लगायतका ठुला सवारी साधानहरु सदरमुकाम खलंगाबाट बाहिर जान तथा भित्रिन सकिरहेका छैनन् । पहिरोले सडक साघुरो बनाएकाले सुरुका दिनहरुमा जीप लगायत साना सवारी साधनहरु चल्न सकिरहेका थिए । तर सडक चौडा बनाउन भिर काट्न थालिएपछि सडक पुर्ण रुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध हुदाँ बसको यात्रा गरि तराईका जिल्ला तथा काठमाण्डौ जाने यात्रुहरु खलंगाबाट दत्तु सम्म जीपमा जाने र पहिरो भन्दा परबाट बसमा जाने गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक पुस्कर सिह ऐरीले जानकारी दिनुभयो । विगत ६ दिन देखि सडक अवरुद्ध हुदाँ खलंगा बजारमा खाद्यान्न तथा ग्यास लगायत दैनिक उपभोग्य सामान आयातमा समस्या भएको छ । दत्तुसम्म आएको सामान बोकेर पहिरो वारी ल्याई अन्य सवारी साधनमा सारेर ल्याउनुपर्ने अवस्था रहेको खलंगा बजारका एक जना ब्यापारीले बताउनुभयो । सडक अवरुद्ध हुदाँ आन्तरिक सवारी साधन तथा जिल्ला बाहिर चल्ने सवारी साधनहरु प्रभावित बनेका छन् । सडक चौडा बनाई खुलाउने प्रयास भइरहेको प्रहरी निरीक्षक ऐरीले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !