एक महिनामा ४४ उद्योग दर्ता

2472

दार्चुला, भदौ ७ गते ।
घरेलु तथा साना उद्योग विकास समिति दार्चुलामा एक महिनामा ४४ नयाँ उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षको पहिलो महिनामा ४४ उद्योग दर्ता हुनुका साथै ६४ उद्योग नविकरण गरिएको घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाले जनाएको छ ।
नयाँ दर्ता भएका मध्ये २० उद्योग लघु उद्यम भएको वरिष्ठ उद्योग अधिकृत पदमवहादुर ठकुराठीले बताउनुभयो । सरकारले गत आर्थिक वर्षदेखि लघु उद्यम दर्ता निशुल्क गरेको छ । लघु उद्यमलाई पाँच वर्षसम्म आयकरमा पनि छुटको व्यवस्था गरिएको ठकुराठीले जानकारी दिनुभयो । महिला उद्यमी भए थप दुई वर्ष गरी सात वर्षसम्म आयकर छुटको व्यवस्था छ ।
नयाँ दर्ता भएका २० लघु उद्योगमध्ये १२ उद्योग महिलाको स्वामित्वका छन् । निशुल्क दर्ता र आयकरमा छुट दिइएकाले उद्योग दर्ताको संख्या बढेको वरिष्ठ उद्योग अधिकृत ठकुराठीको भनाई छ । साउन महिनामा दर्ता भएका मध्ये २० वटा घरेलु उद्योग हुन् । २ वटा उद्योग भने कम्पनी रजिष्टारको कार्यालयमा समेत दर्ता भएका छन् ।
आर्थिक वर्षको पहिलो महिनामा दार्चुलामा २६ नयाँ वाणिज्य फर्म दर्ता भएका छन् । १ सय ३५ वाणिज्य फर्म नविकरण गरिएका छन् । उद्योग र वाणिज्य फर्म दर्ता तथा नविकरणबाट साउन महिनामा मात्र ५ लाख ९१ हजार १ सय रुपैयाँ राजश्व संकलन गरिएको छ ।
‘उद्योग क्षेत्रको विकासले रोजगारी श्रृजना र गरिबी निवारणमा योगदान पुर्याउने भएकाले संख्या बढ्नु सकारात्मक हो’ वरिष्ठ उद्योग अधिकृत पदमवहादुर ठकुराठीले भन्नुभयो । उद्योगहरुको प्रभावकारी व्यवस्थापन गर्न सकेमा आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा समेत सकारात्मक असर पर्ने उहाँको भनाई छ ।
दार्चुला जिल्लाभरी हालसम्म ८ सय ७६ उद्योग दर्ता भएका छन् । १ हजार ३ सय २८ वाणिज्य फर्महरु रहेका छन् । सरकारले लघु उद्यमलाई चालु वर्षदेखि आयकर छुट गरेको छ । उत्पादनमूलक, कृषिजन्य, सेवामूलक, पर्यटन र सुचना प्रविधिका क्षेत्रमा नयाँ उद्योग दर्ता बढिरहेको घरेलुको तथ्यांक छ ।
घरेलु तथा साना उद्योग विकास समितिको जिल्लास्थित कार्यालयमा ५ करोड लगानीसम्मको उद्योग दर्ता गर्ने प्रावधान छ । पाँच लाख रुपैयाँसम्मको लगानी गरी आफै व्यवसायमा संलग्न भएको पेशालाई लघु उद्यम भनिएको छ । लघु उद्यममा सीप र ससानो प्रविधिको प्रयोग गरिएको हुन्छ ।
परम्परागत प्रविधि र सीपको उपयोग गरी स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई घरेलु उद्योग भनिएको छ । गलैचा, बाजागाजा, मूर्ति, कला सम्बन्धि व्यवसाय घरेलु उद्योगअन्तर्गत पर्दछन् । लघु उद्यम र घरेलु उद्योग बाहेकका १० करोड लगानीसम्मका उद्योगलाई साना उद्योग भनिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !