उद्योग मन्त्री बडूको गृहजिल्ला भ्रमणः भाषण र दावीको श्रृंखला यस्तो छ

0
439

दार्चुला, साउन ३० गते ।

शेरवहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा मन्त्री बनेपछि काग्रेस नेता दिलेन्द्रप्रसाद बडूले तेस्रोपटक गृहजिल्ला दार्चुलाको भ्रमण गरेका छन् । पहिलो भ्रमण कानुनमन्त्रीको रुपमा भएको थियो । दोस्रो भ्रमण स्थानीय निर्वाचनमा केन्द्रीत भएको थियो र नेता बडूले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवारी पाइसकेका थिए । दोस्रो भ्रमणका बेला दार्चुलाका नौवटै स्थानीय तहको केन्द्रसम्मका चुनावी कार्यक्रममा मन्त्री बडू पुगेका थिए । तेस्रो पटक साउन २० देखि २४ गतेसम्म दार्चुला भ्रमण गरिएको छ ।
अघिल्ला दुइ भ्रमणभन्दा यसपटकको भ्रमण उद्देश्य, सहभागिता र कार्यक्रमका हिसाबले फरक देखियो, जुन स्वाभाविक पनि छ । मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तिथि तोकिएसंगै मन्त्री बडूको गृहजिल्ला भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।
चार रात र चार दिनको समय दार्चुला सदरमुकाममा विताएका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री बडू दार्चुलामा आयोजित केही औपचारिक कार्यक्रम र अनौपचारिक भेटघाट तथा छलफलमा सहभागी भएका छन् ।

‘राष्ट्रिय उत्पादन वृद्धिमा सरकारको जोड’ 

उद्योगमन्त्री बडूले साउन २१ गते सदरमुकाम खलंगामा आयोजित खाद्य कार्यालयको उद्घाटन कार्यक्रममा वर्तमान सरकारले राष्ट्रिय उत्पादनमा सरकारले जोड दिएको बताउनुभयो । आफ्नो मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय गृहजिल्लामा स्थापना गराएका मन्त्री बडूले राष्ट्रिय अर्थतन्त्र उकास्न नयाँ बजेट र नीति तथा कार्यक्रम केन्द्रीत रहेको बताउनुभयो ।
आफ्नो मन्त्रालयको अगुवाईमा सरकारले १० वर्षे प्रधानमन्त्री राष्ट्रिय उत्पादन तथा उपभोग कार्यक्रम अघि सारेको उहाँको भनाई छ । कृषि क्षेत्रका साथै औद्योगिक क्षेत्रको उत्पादन वृद्धिलाई सरकारले प्रोत्साहन गर्न खोजेको उहाँले बताउनुभयो ।
छाङरु र तिंकरमा चामल पुर्याउने हेलिकोप्टर रित्तै फर्किदैन
खाद्य कम्पनीको शाखा कार्यालय उद्घाटन गर्दै मन्त्री बडूले स्थानीय उत्पादनलाई खरिद गरी बजारमा विक्रीवितरण गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गृहकार्य गरेको बताउनुभयो । व्यासको छाङरु र तिंकरमा चामल पुर्याउने हेलिकोप्टरले त्यहाँको स्थानीय उत्पादन ल्याएर फर्किने गरी गृहकार्य भइरहेको उहाँले बताउनुभयो । ‘चामल ढुवानी गरेर हेलिकोप्टर रित्तै फर्किदैन, स्थानीय उत्पादनलाई ढुवानी गरी बजारिकरणसंग जोड्छौ’ उहाँको भनाई छ । व्यास क्षेत्रका साथै दार्चुलाका अन्य भेगमा उत्पादन हुने कोदो, राज्मा, फापर, आलु लगायत खाद्य सामग्रीको प्रवद्र्धन र बजारिकरण गरिने मन्त्री बडूले बताउनुभयो ।

‘त्रिपक्षीय व्यापारको ढोका खोल्न मोटरपुल’

उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले भारत र चीनसंगको व्यापार वृद्धिका कारण महाकाली नदीमा मोटरपुल बनाउन गृहकार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । महाकालीमा मोटरपुल निर्माण भएपछि दार्चुलाका साथै बैतडी र बझाङसम्मको व्यापार दार्चुलाको नाकाबाट हुने उहाँको भनाई छ । मोटरपुल निर्माणले भारत र चीनसंगको व्यापारको ढोका पनि खुल्ने उहाँले बताउनुभयो ।
कञ्चनपुरको दोधारा चादनीमा सुख्खा बन्दरगाह निर्माण गर्न भारतीय पक्ष सहमत भएको बताउदै उहाँले कञ्चनपुरमा निर्माण भइरहेको चारलेनको मोटरपुल र महाकाली कोरिडोरले त्रिदेशीय व्यापार बढाउने बताउनुभयो ।

‘टिंकर सडकमा बजेट अभाव हुँदैन’

उद्योगमन्त्री बडूले दार्चुला–टिंकर सडक निर्माणमा बजेट अभाव नहुने बताउनुभएको छ । सरकारले प्राथमिकताका साथ सडक निर्माणको जिम्मा सेनाको दिएको बताउदै उहाँले सडक निर्माणको डिपिआर संसोधन गरिदा एक वर्षको समय ढिलाइ भएको बताउनुभयो ।
‘टिंकर सडकमा जति चाहिन्छ बजेट हाल्छौ । सडक निर्माणको कार्य द्रुतगतिमा हुनुपर्छ’ खलंगामा साउन २१ गते आयोजित औपचारिक कार्यक्रममा उहाँले भन्नुभयो ।

‘ठूलो जोखिमबाट संविधान जोगियो’

वर्तमान सरकार संविधान जोगाउने क्रममा निर्माण भएको उद्योगमन्त्री बडूको भनाई छ । विशेष परिस्थितिमा वर्तमान सरकार निर्माण भएको बताउदै उहाँले तत्कालिन अवस्थामा संविधान बचाउने प्रमुख दायित्व बोकेर सरकार बनेको बताउनुभयो ।
‘संविधान बच्दा लोकतन्त्र बाच्छ, जनता बाच्छन्, संघियता बाच्छ, समावेशीता बाच्छ । संविधान बचाउने क्रममा यो सरकार जन्मिएको हो’ उद्योगमन्त्री बडूले भन्नुभयो, ‘संविधान जोगाउने विषय प्रमुख भएकोले विकास निर्माण यो सरकारको दोस्रो प्राथमिकतामा परेको हो ।’