उद्योगमन्त्रीको गृहजिल्ला भ्रमण ःउम्मेदवारीको गृहकार्यदेखि रुद्राभिषेकसम्मका कार्यक्रम

0
315

दार्चुला ।
उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री एवं नेपाली काग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले मन्त्री भएपछि तेस्रोपटक गृहजिल्ला भ्रमण गरेका छन् । कानुनमन्त्री हुँदा पहिलो पटक गृहजिल्ला दार्चुला भ्रमण गरिसकेका नेता बडूले स्थानीय निर्वाचनको समय करिब दुइ हप्ता जिल्ला भ्रमणमा विताएका थिए । स्थानीय निर्वाचनका बेला मन्त्रालयको जिम्मेवारी परिवर्तन भई उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री भइसकेका थिए ।
दार्चुलामा स्थानीय तह निर्वाचनको नतिजा प्रतिकुल आएलगत्तै जेठ संक्रान्तिका दिन एकाविहानै मन्त्री बडू दार्चुलाबाट काठमाण्डौं फर्किएका थिए । त्यसपछि साउन २० गते साँझ मन्त्री बडूको टोली तेस्रोपटक गृहजिल्ला दार्चुला पुगेको हो ।
यसपटकको भ्रमण आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको गृहकार्यमा केन्द्रीत देखिएको छ । केही औपचारिक कार्यक्रम भए पनि आसन्न निर्वाचनलाई नै केन्द्रीत गरेर भेटघाट, छलफल र कार्यक्रम गरिएका छन् । साउन २१ गते शनिवार विहान आफ्नो मन्त्रालय मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री बडू सहभागी भएका छन् ।
आफ्नो पहल र सक्रियतामा जिल्लामा डेढ दशकअघि बन्द गरिएको खाद्य कार्यालय पुनः सञ्चालनमा ल्याइएको सन्देश यो कार्यक्रममार्फत दिन खोजियो । खाद्य कम्पनीको शाखा कार्यालय उद्घाटनको तयारीका लागि प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दसहितको टोली दुई दिनअघि नै दार्चुला आइपुगेको थियो । प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा र सरकारी कार्यालय प्रमुखहरु एवं अधिकांश सरोकारवालाहरुको बीचमा कार्यालय उद्घाटन गरिएको छ ।
साउन २१ गते नै नेपाली काग्रेसको प्रथम जिल्ला सम्मेलन सुरु भयो । जिल्ला सम्मेलनमा साँझसम्म नै मन्त्री बडू सहभागी बनेका छन् । साउन २२ गते साँझसम्म सञ्चालन भएको काग्रेस जिल्ला सम्मेलनमा मन्त्री बडू साउन २१ र २२ गते गरी करिब १२ घण्टासम्म सहभागी बनेका छन् । जिल्ला सम्मेलनमा नेता–कार्यकर्ताहरुबाट आएका सुझाव, प्रतिक्रिया र अभिव्यक्तिहरुलाई मन्त्री बडूले गम्भीर भएर सुनेका छन् । ‘मन्त्री बडूले धेरैजसोका सुझाव र भनाईलाई पोकेट डायरीमा नोट समेत गर्न भ्याएका छन्’ सम्मेलनका एक सहभागी भन्छन् ।
स्थानीय तहको जस्तो आफ्नै कार्यकर्ताबाट असहयोग नहोस् भन्ने चाहना नेता बडूले राखेका छन् । काग्रेस जिल्ला सम्मेलनमा भनाई राख्ने सबैजसोले चुनावमा असन्तुष्टि नपोख्न र असहयोग नगर्न सचेत गराएका पनि छन् । टिकट जोसुकैले पाए पनि आपसमा एकतावद्ध भएर चुनावमा उभिनेबारे दुई दर्जन नेताहरुले सामूहिक रुपमा लिखित प्रतिवद्धता समेत गरेका छन् ।
साउन २२ गते विहान घरेलु तथा साना उद्योग कार्यालय परिसरमा प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत तीन ठाउँमा उद्यमीलाई सामग्री हस्तान्तरण कार्यक्रममा पनि मन्त्री बडू सहभागी बनेका छन् । अल्लो प्रसोधन सम्बन्धि सामग्री वितरणमा सहभागी भएर मन्त्री बडूले आफ्नो पहलमा यस्तो सहयोग जुटाइएको सन्देश पनि दिएका छन् । साउन २२ गते साँझसम्म काग्रेसको जिल्ला सम्मेलनमा सहभागी बनेका मन्त्री बडू नेता–कार्यकर्ताबीच एकतावद्ध हुने सन्देशसहित विदा भएका छन् ।
स्थानीय निर्वाचनबाट सबैलाई पाठ सिक्न आग्रह समेत गरिएको छ । पार्टीभित्रको आन्तरिक असन्तुष्टि चुनावमा पोख्दा सिंगो पार्टी संगठनको हार भएको सबैजसो काग्रेसजनको निस्कर्ष छ । ‘व्यक्ति–व्यक्ति वा कुनै पदाधिकारीका बीच असन्तुष्टि हुँदैमा चुनावमा असहयोग गर्ने र सक्रिय नहुने अवस्था देखियो, अब आउदो निर्वाचनमा यस्तो अवस्था आउदै–नआओस् भन्नेमा सबैले सचेत गराएका छन्’ जिल्ला सम्मेलनमा सहभागी एक अग्रज नेताले भन्नुभयो ।
साउन २३ गते दार्चुला उद्योग वाणिज्य संघले उद्योग मन्त्री बडूको स्वागत कार्यक्रम गरेको छ । विभागिय मन्त्री भएकाले उद्योग वाणिज्य संघले गृहजिल्लामा स्वागत कार्यक्रम गरेको संघका कार्यवाहक अध्यक्ष विशन सिंह बोहराले बताउनुभयो । स्वागत कार्यक्रममा मन्त्री बडूसंग दार्चुलाको उद्योग, वाणिज्य क्षेत्रको विकासमा सहयोग गर्न माग गरिएको छ । साथै, उद्योग वाणिज्य संघलाई संस्थागत क्षमता विकासका लागि पनि सहयोग माग गरिएको संघका महासचिव सर्पराज बडूले बताउनुभयो ।
साउन २३ गते सोमबार तथा एकादशी तिथि रहेको अवसर पारेर मन्त्री बडूले गृहस्थान महाकाली नगरपालिकाको वडा नम्बर ५ नमस्कारस्थित हुनैनाथ मन्दिरमा पूजापाठ समेत गरेका छन् । साउन महिनाको सोमबारको अवसर पारेर रुद्रीपाठ र रुद्राभिषेकको कार्यक्रम गरिएको परिवारजनले बताएका छन् । साउन २४ गते विहान मन्त्री बडूको टोली दार्चुलाबाट काठमाण्डौं फर्किएको छ ।
दार्चुलामा रहदा मन्त्री बडूसंग सयौं नेता, कार्यकर्ता र शुभचिन्तकहरुले भेटघाट गरेका छन् । केहीले व्यक्तिगत समस्या र मागका कुरा राखे पनि धेरैले आसन्न निर्वाचनबारे मन्त्री बडूलाई सुझाव दिएका छन् । ‘मन्त्रीज्यूलाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न आग्रह गर्नेको संख्या धेरै थियो, सबैजसोले पार्टी नेता कार्यकर्तालाई एकतावद्ध बनाउनुपर्नेमा जोड दिएका छन्’ मन्त्री बडूनिकट एक जिल्ला नेताले भन्नुभयो ।