उत्तराखण्डका १० जिल्लामा वनको क्षेत्रफल बढ्यो

0
1975

दार्चुला, पुष १८ गते ।
भारतको उत्तराखण्ड राज्यका १० जिल्ला वनजंगलको क्षेत्रफल बढेको छ । भारतको केन्द्रीय सरकारले गरेको सर्भेक्षणअनुसार उत्तराखण्डका १३ जिल्लामध्ये हरिद्वार, नैनीताल र उद्यमसिंहनगरमा वनको क्षेत्रफल घटेको छ ।
दिसेम्बर ३० मा सार्वजनिक फरेस्ट सर्भे अफ इन्डियाले वनजंगलको क्षेत्रफल सम्बन्धि नयाँ विवरण सार्वजनिक गरेको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लेखेको छ । उत्तराखण्ड राज्यको भूभागमध्ये ६५ प्रतिशत क्षेत्रफलमा वनजंगल रहेको उत्तराखण्ड सरकारका वनमन्त्री डा. हरकसिह रावतले बताउनुभयो ।
धेरै क्षेत्र हिमपात र चट्टानले ढाँकिएकोले वनजंगलको विकासमा चुनौती रहेको वनमन्त्री रावतको भनाई छ । दुई वर्षको अवधिमा उत्तराखण्डमा ८ दशमलव ०४ वर्गकिलोमिटर वनक्षेत्र बढेको प्रतिवेदनमा छ ।
देहरादूनस्थित फरेस्ट सर्भे अफ इन्डियाले गरेको अध्ययन विश्लेषणअनुसार उत्तराखण्ड राज्यको २४ हजार ३ सय ३ दशमलव ४ वर्गकिलोमिटर क्षेत्र वनजंगलले भरिएको छ । सन् २०१५ देखि २०१७ सम्मको अवधिमा भने उत्तराखण्डमा २३ वर्गकिलोमिटर क्षेत्रफलमा वनजंगल विस्तार भएको थियो ।
भूउपग्रह प्रणालीमार्फत वनक्षेत्रको तथ्यांक अद्यावधिक गरिएको फरेस्ट सर्भे अफ इन्डियाले जनाएको छ । तथ्यांकअनुसार सल्लाका रुख भएको वनक्षेत्र बढेको छ ।

नेपाल र चीनसंग सिमा जोडिएको पिथौरागढ जिल्लामा सन् २०१७ देखि २०१९ को अवधिमा १ दशमलव ८ वर्गकिलोमिटर वनक्षेत्र वृद्धि भएको छ । अर्को सिमावर्ती जिल्ला चम्पावतमा १ दशमलव ५५ वर्ग किलोमिटर क्षेत्रफलमा वनजंगल बढेको छ ।