उच्च शिक्षामा अनुसन्धान आवश्यक

0
800

सम्पादकीय
सहर र सेवा सुविधासम्पन्न केही शिक्षालयहरुले शिक्षक विद्यार्थीहरुलाई अनुसन्धान कार्यमा अनिवार्य संलग्न गराउने रणनीति लिएका छन् ।

परिवर्तनीय क्षेत्रको निर्धारण गरी विद्यार्थीहरुलाई सो क्षेत्रको अध्ययन अनुसन्धान गर्न लगाई राज्यलाई विशिष्ट सहयोग गर्ने कार्य विश्वविद्यालयहरुले गर्ने गरेका हुन्छन् । मानिसले गरेको वैज्ञानिक, सामाजिक, गणितीय, भाषिक र शैक्षिक चमत्कार यसैको परिणति हो । तर हामीकहाँ केही सहरी र सुविधासम्पन्न शिक्षालयबाहेक अन्य उच्च शिक्षाप्रदायक संस्थाहरुले आफ्नो कार्यक्रममा पठन–पाठन, परीक्षा र नतिजाबाहेक अनुसन्धानात्मक कार्यलाई प्राथमिकता दिएको देखिदैन । पाठ्यांशले मागेको अनुसन्धान कार्यलाई औपचारिकतामा सीमित राखेर (कयन अवस्थामा त शोधकार्यमा पनि चोरीको आरोप लाग्ने गरेको) गरिने अनुसन्धान कार्यमा मात्रै कतिपय उच्च शिक्षाप्रदायक संस्थाहरुले अनुसन्धानको जिम्मेवारी पूरा गरेको देखाउँछन् भने कयन शिक्षालयहरुले आफ्ना शिक्षक विद्यार्थीहरुलाई अनुसननमूलक कार्यमा संलग्न त गराएका हुन्छन् तर उनीहरुको अध्ययन अनुसन्धानको निष्कर्षलाई सम्बन्धित क्षेत्रमा अपेक्षित परिवर्तनको लागि उपयोग गर्न सकेका हुँदैनन् । अनुसन्धानका निष्कर्ष र सुझावहरुलाई सम्बन्धित क्षेत्रको अपेक्षित परिवर्तनका लागि लागू गर्न राज्यको नीति नै त्यसकिमिसको हुनु पर्दछ । हाम्रो राज्यले विश्वविद्यालयहरुलाई कुन क्षेत्रमा अध्ययन अनुसन्धान गर्न लगाउने भन्ने विशिष्ट योजना बनाउन नसकेको यथार्थ एकातिर छ भने निर्धारित गरिएको अनुसन्धान कार्यलाई औपचारिकतामा सीमित राख्ने परम्परा अर्कोतिर छ । यस्तो अवस्थाले न उच्च शिक्षाको अपेक्षालाई पूरा गर्न सक्दछ नयाँ युवाहरुलाई अनुसन्धानमुखि बनाउन सकेको छ ।
विश्वविद्यालय अनुदान आयोगले अनुसन्धानमुलक कार्यलाई प्राथमिकता दिएको भएपनि उच्च शिक्षाप्रदायक कयन शिक्षालयहरु अनसुन्धान कार्यमा संलग्न देखिदैनन् । केन्द्रीय पुस्तकालयमा दर्ता भएका अनुसन्धानमुलक जर्नलहरुको तालिकाले राजधानीबाहिरका अधिकांश उच्च शिक्षासम्बद्ध संस्थाहरु अनुसन्धान कार्यमा संलग्न नभएको पुष्टि गर्दछ । अनुसन्धानमुलक जर्नल नै प्रकाशन नभएको अवस्थामा ती शिक्षालयहरुले अन्य कुन क्षेत्रमा अनुसन्धान गर्ने होलान् ? भन्ने प्रश्न पनि स्वभाविक रुपमा उठ्ने गरेका छ । यद्यपि त्यस्तो जर्नललाई मात्रै अनुसन्धानको मापक बनाउन नमिल्ला तथापि शिक्षालयमा हुने अनुसन्धान कार्यको एक प्रमाणका रुपमा जर्नलहरुलाई लिइन्छ । उच्च शिक्षाप्रदायक संस्थाहरुले आफ्ना शिक्षकहरुलाई अनिवार्य अनुसन्धान कार्यमा संलग्न गराउने नीति लिनु पर्दछ । यसले आफ्नो नीति तथा कार्यक्रम, शिक्षण विधि र कार्यकलापहरुमा आवश्यक सुधार ल्याएर शैक्षिक गुणस्तर कायम गर्न सहयोग गर्ने छ भने विद्यार्थीहरुलाई पनि अनुसन्धान कार्यमा संलग्न गराउन सकिने हुन्छ । शिक्षक आफैमा अनुसन्धान कार्यमा संलग्न हुँदैनन् भने उच्च शिक्षा ग्रहण गर्ने विद्यार्थीहरुलाई कसरी मार्ग निर्देश गर्न सक्छन् ? भन्ने प्रश्न पनि गम्भीर रुपमा उठ्न सक्दछ ।