आगलागीबाट ८५ लाखको क्षति

0
275

दार्चुला,असोज १३ गते ।
दार्चुला सदरमुकाम खलंगा स्थित एक किराना पसलमा आगलागीबाट ८५ लाखको क्षति भएको छ । महाकाली नगरपालिका वडा नम्वर ४ को राधाकृष्ण चोकमा व्यापार गर्दै आइरहेका व्यापारी ललित प्रसाद भट्टको किराना पसलमा आगलागी हुँदा ७५ लाख बराबरको किराना समान, ५ लाख बराबरको फर्निचर र ५ लाख नगद पैसा जलेर नष्ट भएको छ । उनका छोरा सुरेश भट्टले दिएको जानकारी अनुसार विद्युतको लाइन सट भएर आगलागी भएको हो । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाले अहिले बजार क्षेत्रमा करेन्ट लागेर हुने जोखिम कम गर्न एबिसी केवल जडान गरिरहेको छ । लाइन जडानकै क्रममा हिजो मात्रै सोही आगलागी भएको घरमा विद्युतका कर्मचारीहरुले लाइन जडान गरिदिएको छोरा सुरेशले बताउनुभयो । लाइन जोड्न आएका विद्युतका कर्मचारीहरु संग आगलागी नहुने गरी लाइन जडान गरिदिन आग्रह गरेको उनले बताएका थिए । यता वितरण केन्द्र दार्चुलाले उक्त घरमा जडान गरेको सर्भिस तार र मिटर नजलेको बताएको छ ।
‘तार र मिटर जलेको छैन, खै कसरी आगलागी भयो एकिन गर्न सकिएको छैन, विद्युतका एक कर्मचारीले भन्नुभयो ।’ बुधबार राती ९ बजेतिर पसलमा एक्कासी आगलागी भएको थियो । आगलागी हुँदा पसलमा रहेको सबै मालसामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुला सुचना अधिकारी राजेश शाहीले बताउनु भयो । महाकाली नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयले करिव १ घण्टा पछि आगो नियन्त्रणमा लिएका थिए । व्यापारी भट्ट अहिले उपचारको सिलसिलामा भारतमा छन् ।