अहिले सहयोगः पछि जवाफ !

0
623

सम्पादकीय
महामारीको बेला राजनीतिक दलका नेताहरु सत्ता समीकरणको लोकतान्त्रिक चरित्र प्रदर्शनमा व्यस्त रहेका बेला देशका विभिन्न क्षेत्रमा रहेका दार्चुलाका युवाहरु भने मानवीय चरित्रको प्रर्दशन गर्दै छन् ।

कोभिड सङ्क्रमणले आम जनजीवनलाई आक्रान्त पारेका बेला ‘विवश भएर मर्नै पर्ने अवस्था आउन नदिन’ युवाहरु अहोरात्र खटिएका छन् । सुविधायुक्त प्रादेशिक अस्पतालहरुबाट तिन सय किलोमिटरभन्दा टाढा रहेको दार्चुला जिल्लाका सङ्क्रमितहरु अक्सिजन अभाव कै कारण मृत्युमा मुखमा नपरुन्, सामग्री अभाव कै कारण जिल्ला मै उपचार नहुने अवस्था नहोस् भन्ने मूल मर्म लिएर जसरी कञ्चनपुर, कैलाली, काठमाण्डौं (उपत्यका) र दार्चुलामा युवाहरु खटिएका छन् त्यसरी नै सरकारी पक्ष (केन्द्र, प्रदेश र स्थानीय तह) खटिएका हुन्थ्ये भने दार्चुलाबासीले उपचार नै नपाएर मर्नु पर्छ कि भन्ने चिन्ता पहिले नै त्यागि सकेका हुन्थे । महिनौं पहिले आइसोलेसन बनाउनु पर्ने, महिनौं पहिले स्वास्थ्य सामग्री खरिद गरिनु पर्ने भएपनि सरोकारवालाहरुको ढिलासुस्ति (गैरजिम्मेवारी ?) का कारण न समयमा आइसोलेसन बन्यो, न पिसिआर मेसिन आयो, न आसियू निर्माण हुन सक्यो, न भेन्टिेलेटर थप्न सकियो, न अक्सिजन सिलेण्डर थपियो, न कहाँबाट तत्काल अक्सिजन आपूर्ति गर्ने भन्ने योजना नै बनाउन सकियो । जसका कारण अक्सिजनको बढी आवश्यकता भएका, आसियू र भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने जिल्लाबासीले ज्यान गुमाउनु पर्यो ।
दार्चुला घर भई भिन्न क्षेत्रमा, भुगोलमा कार्यरत युवाहरुले समूह बनाएर कार्य थालनि गरेपूर्व स्वास्थ्यकर्मीहरु र स्वास्थ्य संस्थाको व्यवस्थापकीय पक्षले मात्रै गम्भीर भएर काम गर्यो । अरु जिम्मेवार निकायहरुले सम्भावित जोखिमलाई कम गर्न युद्ध स्तरमा काम गरेको देखिएन । पछिल्लो समय युवाहरुले अस्पताललाई आर्थिक सहयोग पनि गरेका छन् भने विभिन्न निकायहरुसँग सहकार्य गरेर आवश्यक सामग्रीहरुको पनि व्यवस्थापन गर्न सकेका छन् । यहाँ प्रश्न के हो भने जनजीवनको जिम्मेवारी लिनु पर्ने निकाय र व्यक्तिहरु हुँदा हुँदै यो क्षेत्रभन्दा भिन्न रहेका युवाहरुले अग्रसर हुनै पर्ने अवस्था कसरी आयो ? युवाहरुले गर्न सक्ने सरोकारवालाहरुले गर्न नसक्ने व्यवस्थापन कस्तो किसिमको हो ? यी प्रश्नहरुमा अवस्था सहज भएपछि निर्मम वहष हुनै पर्दछ । युवाहरुले विपद्का बेला सहयोग गर्ने जुन मानवीय सक्रियता देखाएका छन् त्यस्तै सक्रियतामा अवस्था समान्य भएपछि सरोकारवालाहरुलाई जवाफदेही बनाउन पनि खेल्नु पर्ने हुन्छ । समस्या परेका बेला सहयोग गर्ने मात्रै होइन जिम्मेवार निकाय र व्यक्तिहरुलाई जिम्मेवारीवहन नगरेबाफतको पश्चाताप गराउन र आगामि दिनमा त्यस किसिमका गैरजिम्मेवारी कार्य नगर्न प्रतिबद्धता गराउन युवाहरु अग्रसर हुँदै पर्दछ । अहिले आफ्नो ठाउँबाट सहयोग गरौं र पछि जिम्मेवारीमा रहेकाहरुलाई कठघरामा उभ्याउने काममा हातेमालो गरौँला।