अर्को वर्षदेखि सबै विद्यालयमा अंग्रेजी माध्यम

2361

दार्चुला, भदौ २३ गते ।
महाकाली नगरपालिकाले अर्को वर्षदेखि सबै विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन सुरु गराउने भएको छ । ३९औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा नगर प्रमुख हंसराज भट्टले नगरपालिकाभरीका सबै आधारभूत विद्यालयमा अंग्रेजी माध्यममा अध्यापन गराइने बताएका हुन् ।
शिक्षाको गुणस्तर सुधारका लागि अंग्रेजी माध्यममा पठनपाठन सुरु गरिन लागेको उहाँले बताउनुभयो । ‘यो वर्षलाई शैक्षिक सुधारको वर्षको रुपमा मनाउदैछौ’ उहाँले भन्नुभयो, ‘शैक्षिक सुधारका लागि आवश्यक तयारी र गृहकार्य गरिरहेका छौ ।’
आधारभूत तहको कक्षा १ देखि नै अंग्रेजी माध्यममा पठनपाठन सुरु गरिएपछि शैक्षिक गुणस्तरमा सुधार आउने नगरपालिकाको अपेक्षा छ । ‘अभिभावकको आकर्षण पनि अंग्रेजी माध्यमप्रति बढी रहेको’ नगर प्रमुख भट्टको भनाई छ । ‘महेन्द्र माविमा अंग्रेजी माध्यम सुरु गरिदा आधारभूत तहमा विद्यार्थी संख्या १५ बाट बढेर करिब ४ सय पुगेको छ’ शिक्षा दिवस समारोहमा नगर प्रमुख हंसराज भट्टले भन्नुभयो ।
नगर क्षेत्रभित्रका सबै विद्यालयमा अनिवार्य अंग्रेजी माध्यममा पठनपाठन सुरु गरिने उहाँको भनाई छ । यसका लागि ‘आवश्यक सहयोग गर्न र सकारात्मक भूमिका खेल्न’ उहाँले सरोकारवालासंग आग्रह गर्नुभएको छ । ‘आधारभूत तहका विद्यार्थीलाई सहज रुपमा अंग्रेजी माध्यममा पठनपाठन गर्न सक्नुपर्छ’ नगर प्रमुख भट्टले भन्नुभयो, ‘वालवालिकालाई एविसिडी पढाउन नसक्ने शिक्षकले आफ्नैबारेमा मुल्यांकन पनि गर्नुपर्छ ।’
महाकाली नगरपालिकाभरी ४८ वटा सामुदायिक विद्यालय रहेका छन् । यी मध्ये करिब आधा दर्जन विद्यालयले आधारभूत तहमा अंग्रेजी माध्यममा पठनपाठन गराइरहेका छन् । शिक्षाको गुणस्तर सुधार्न र विद्यार्थी टिकाइराख्न अंग्रेजी माध्यममा पठनपाठन गराउन आवश्यक रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख जयराज पन्तले बताउनुभयो ।
मावि खलंगा, मोती महिला संघ प्रावि तिंकर, जगन्नाथ प्रावि गल्फै, दशरथनगर प्रावि बंगाबगड, मालिकार्जुन मावि धाप, राष्ट्रिय मावि दत्तुमा हाल अंग्रेजी माध्यममा पठनपाठन हुँदैआएको छ । नगरपालिकाले अंग्रेजी माध्यमलाई प्रोत्साहित गर्न केही अनुदानको व्यवस्था पनि गर्न खोजेको नगरपालिकाअन्तर्गतको युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख पन्तले जानकारी दिनुभयो । ‘हामी गृहकार्य गरिरहेका छौ, अंग्रेजी माध्यमलाई अनिवार्य गर्न प्रोत्साहन गर्ने सोचमा छौ’ उहाँले भन्नुभयो ।
आधारभूत तहको सिकाई उपलब्धि निकै कमजोर भएको शाखा प्रमुख पन्तको भनाई छ । ‘शैक्षिक सुधारका लागि चालु शैक्षिक सत्रदेखि गरिएको बाह्य परीक्षाको अभ्यास पनि गरिनेछ’ उहाँले भन्नुभयो । विद्यार्थीहरुको परीक्षा सञ्चालन र मुल्यांकन सम्बन्धित विद्यालय बाहिरको जनशक्तिबाट गराउन खोजिएको उहाँले बताउनुभयो ।
आउदो शैक्षिक सत्रमा कक्षा १ देखि अंग्रेजी माध्यममा सबै विद्यालयमा पठनपाठन सुरु गरिने महाकाली नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !