अप्रत्यासित परिणामको सम्मुखमा

1355

यति बेला हामीले आम नागरिकलाई सुसुचित गर्ने कार्यलाई हाम्रो पहिलो प्राथमिकता मानेर काम गर्दैछौं । सरकारले बन्द नहुने क्षेत्रमध्ये सञ्चार क्षेत्रलाई पनि लिएको हुँदा आवश्यक सजकता र सुरक्षा अपनाएर विद्युतीय र छापा माध्यमलाई निरन्तरता दिएका छौं । सडकमा ननिस्के रै गरिएको हाम्रो कामले स्रोता तथा पाठकहरुले आवश्यक सूचनाहरु प्राप्त गर्दै छन् । हामीले सञ्चार माध्यमहरु मार्फत कोरोना संक्रमण फैलिन नदिन अपनाउन आवश्यक पर्ने सतर्कताहरुको जानकारी पटक पटक गर्दै आएका छौं । आम नागरिकले पालना गर्ने नगर्ने कुराको सामग्री सङ्कन गर्न पाइएको छैन तर सामाजिक सञ्जालहरुमा देखा परेका टिप्पणीहरु हेर्ने हो भने हामी अप्रत्यासित परिणामको सम्मुख रहेको महसुस हुन थालेको छ । आफूले सतर्कता अपनाइ रहँदा अरुले सतर्कता नअपनाउने हो भने संक्रमण फैलिनबाट रोक्न सकिने अवस्था रहँदैन ।
जिल्ला वा देश बाहिरबाट आउनेहरु निर्बाध घरपरिवार, साथिहरुसित र समुदायमा घुमफिर गर्ने, हिडडुल गर्ने कामको परिणाम सामान्य अवस्थामा अन्दाज गरिएको भन्दा भयावह हुनेछ । हो, बाहिरबाट आएका सबैले संक्रमण बोकेर ल्याएको होइनन्, हुन सक्छ एक दुई जनामा त्यो संक्रमण हुन सक्छ तर त्यही एक दुई जनाका कारण उनीहरुको परिवारका सदस्य, उनीहरुसित सम्पर्कमा आएका अन्य व्यक्ति हुँदै समग्र समुदायमा संक्रमण फैलिन सक्ने ठूलो सम्भावना छ । उपचार त परै जाओस् व्यवस्थिति क्वारेन्टाइन र आइसोलेसनको समेत व्यवस्था हुन नसकेको हाम्रो समाजमा संक्रमण फैलिए पछिको अवस्था कस्तो हुने हो, सहजै अनुमान गर्न सकिन्छ । पछिल्लो अवस्थाको तीतो यथार्थ के हो भने जिल्लामा तीन हजारभन्दा पनि बढी नागरिकहरु भित्रिएका छन् तर कोही पनि क्वारेन्टाइनमा छैनन् । अझ सामाजिक सञ्जालमा आएका टिप्पणीहरुले त झनै निराश बनाउँछ ।
हामी किन जिम्मेवार हुन सकेको छैनौं ? प्रथमतः बाहिरबाट आउने नागरिकहरुले आफू र परिवारका साथै सबैलाई सुरक्षित गराउन आफै अलग्गै सुरक्षित बस्नु पर्दथ्यो । त्यो हुन सकेन भने जिल्लामा भित्रिने नाकाहरु लिइएको तथ्याङ्कका आधारमा सम्बन्धित वडासित समन्वय गराई उनीहरुलाई क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको देखियो । ठाउँ ठाएँमा स्वास्थ्य चेकजाँच गर्ने टोली राखेर तथ्याङ्यक लिई रहेका स्थानीय सरकारहरुले बाहिरबाट आएकाहरुको तापक्रम लिएर छोडिएको देखियो । स्वास्थ्यकर्मीहरुले परिवारबाट छुट्टै बस्न, समुदायमा घुलमिल नहुन आग्रह गरेको देखिए पनिस्वयम् बाहिरबाट आएका नागरिकहरुको चाहना नहुँदा र स्थानीय सरकारहरुले व्यवस्था गर्न नसक्दा कोही पनि क्वारेन्टाइनमा बसेको देखिएन । छाडा हुनुलाई गर्व महसुस गर्ने र क्वारेन्टाइनमा राख्न नसक्ने स्थानीय सरकारहरु कै कारण हामी अप्रत्यासित परिणामको सम्मुखमा छौं ।

तपाईको प्रतिक्रिया दिनुहोस् !