अपि–व्याँस जोड्ने पर्यटकीय पदमार्ग बनाइने मन्त्री धामीको भनाई

0
705

दार्चुला, साउन ३ गते ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानवहादुर धामी सन्तोषले अपि–व्याँस पर्यटकीय पदमार्ग निर्माण गर्ने बताएका छन् । शनिवार मालिकार्जुन गाउँपालिका केन्द्र शंकरपुर पस्तीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री धामीले चालु आर्थिक वर्षबाट यसका लागि बजेट समेत व्यवस्थापन गरिसकेको बताउनुभयो ।
अपिहिमाल गाउँपालिकाको घुसाबाट व्याँस गाउँपालिकाको व्यासक्षेत्र र पवित्र कैलाश–मानसरोवर जोड्ने गरी पर्यटकीय पदमार्गको निर्माण कार्य आफ्नो उच्च प्राथमिकतामा रहेको मन्त्री धामीको भनाई छ । भर्खर सुरु भएको नयाँ आर्थिक वर्षमा अपिहिमाल र व्यास गाउँपालिकाको हिमाली क्षेत्रमा पर्यटकीय पदमार्ग निर्माण गरी पर्वतारोहणलाई प्रोत्साहन गरिने प्रदेश पर्यटन मन्त्री धामीको भनाई छ । ‘यसका लागि नीजिक्षेत्रसंग आवश्यकता अनुसार साझेदारी गर्नेछौ’ उहाँले भन्नुभयो ।
दार्चुलाको प्रमुख धार्मिकस्थल मालिकार्जुनका साथै अन्य महत्वपूर्ण स्थलहरुमा धार्मिक पर्यटनको प्रवद्र्धन गरिने मन्त्री धामीको भनाई छ । सुदूरपश्चिम प्रदेश सरकारले नयाँ बजेटमा मालिकार्जुन धामक्षेत्रको विकासका लागि ३५ लाख बजेट विनियोजन गरेको छ । यसैगरी अपी नाम्पा क्षेत्रको पर्यटकीय विकासका लागि समिति गठन गरी संरचना कार्यान्वयनमा ल्याउन २५ लाख रुपैयाँ बजेट छुट्याइएको उहाँले बताउनुभयो ।
प्रदेश सरकारले अपिहिमालको वेशक्याम्प नजिक घुसाको धौलेओडार र व्यास गाउँपालिकाको तिंकर गाउँ नजिक डोङकाङ क्षेत्रमा पर्यटक आवाश गृह निर्माण गर्न समेत बजेट छुट्याएको छ । दुबै ठाउँमा पर्यटक आवाश गृह निर्माण गर्न २५र२५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । पर्यटक आवाश गृह निर्माणमा आवश्यकताअनुसार थप बजेट समेत दिइने मन्त्री मानवहादुर धामी सन्तोषको भनाई छ । चालु वर्षको बजेटमै पवित्र कैलाश मानसरोवर प्रवेशद्वार निर्माण गर्ने र दार्चुलामा पर्यटन सुचना केन्द्र स्थापना गरी सञ्चालनमा ल्याउने कार्यक्रम समेत राखिएको छ ।
आफ्नो कार्यकालभित्रै मालिकार्जुन राष्ट्रिय धामको व्यवस्थापनका लागि परिणाममुखी काम गरेर देखाउने प्रतिवद्धता समेत पर्यटन मन्त्री धामीले गर्नुभएको छ । पर्यटन प्रवद्र्धन तथा पर्यटकीय गतिविधि बढाउनका लागि अपी नाम्पा संरक्षण क्षेत्रसंग प्रदेश सरकारले सहकार्य गर्ने समेत उहाँले बताउनुभयो ।
संघीय सरकारअन्तर्गत रहेको अपि नाम्पा संरक्षण क्षेत्रमा एक वर्षदेखि व्यवस्थापन परिषद् नेतृत्वविहिन छ । उपभोक्ता समूह, उपभोक्ता समिति र व्यवस्थापन परिषद्को संरचनामा राजनीतिक सहमति जुट्न नसक्दा अपी नाम्पा संरक्षण क्षेत्र कर्मचारीको भरमा चलिरहेको छ । यथाशीघ्र नेतृत्व चयन गर्न प्रदेश सरकारले पहल र समन्वय गर्ने पनि प्रदेश पर्यटन मन्त्री धामीको भनाई छ ।
दार्चुला सदरमुकाम खलंगा, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका, शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिका क्षेत्रमा एक हप्तासम्म मन्त्रीले भ्रमण गरेका हुन् । नेकपा माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्री भएपछि धामीले पहिलो पटक गृहजिल्लाको भ्रमण गरेका छन् ।