अन्ठानब्बेको पिसिआर परीक्षण नतिजा आउदै

779

दार्चुला, असार १२ गते ।
दार्चुलामा असार २ गते २ सय २८ जनाको स्वाब संकलन गरिएको थियो । पिसिआर परीक्षणका लागि नमुना धनगढी पठाइएकोमा हालसम्म १ सय ३० जनाको रिपोर्ट प्राप्त भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । रिपोर्ट आएका सबैको नतिजा निगेटिभ छ ।
दार्चुलाबाट स्वाब संकलन भएका बाँकी ९८ जनाको रिपोर्ट आजभोलीमा आउने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयो । हालसम्म दार्चुला जिल्लाभरी १ हजार २१ जनाको पिसिआर परीक्षण गरिएको छ । १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । कोरोना संक्रमितमध्ये १२ जना उपचारपछि घर फर्किसकेका छन् ।
संस्थागत क्वारेन्टाइनमा बसेका ३ हजार ८ सय ६४ जनाको आरडिपी परीक्षण पनि गरिएको छ । आरडिटी परीक्षणमा १ सय १४ जना कोरोनाको संक्रमण देखिएको छ । ८ जनाको पिसिआर र आरडिटी दुबै परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।
हाल क्वारेन्टाइनमा बसेकामध्ये ६७ जना आइसोलेशनमा छन् । संक्रमणको सम्भावना भएकालाई पहिचान गरी आइसोलनमा राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पिसिआर नतिजा नआउन्जेलसम्म क्वारेन्टाइन र आइसोलेशनमा राखिने स्वास्थ्य कार्यालय प्रमुख जयराज भट्टले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !