अतिक्रमित भूमिमा जनगणनाको विषय उठ्दा सीमा क्षेत्रमा नेपालीलाई सास्ती

0
715
दार्चुला सदरमुकाम खलंगा र भारतीय बजार धार्चुला

दार्चुला, मंसिर १७ गते । 
भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना हुनुपर्ने नेपालमा माग उठेपछि भारतले सीमा क्षेत्रमा आवत जावतमा कडाइ गरेको छ । 

भारतको पिथौरागढ जिल्लाको नेपाल सँग सीमा रहेको १ सय ५० किलोमिटर क्षेत्रमा भारतीय एसएसबीले कडा निगरानी गरिरहेको छ । भारतीय पत्रिका हिन्दुस्तान दैनिकका अनुसार जनगणना गर्न उक्त क्षेत्र सम्म नेपाली नागरिक पुग्न सक्ने भन्दै सीमा क्षेत्रमा हुने आवत जावतमा कडाइ गरिएको हो । 


पिथौरागढ जिल्ला संग सीमा जोडिएको झुलाघाट, जोलजिबि, बलुवाकोट, खलंगा, तिग्रम लगायत सीतापुलमा हुने आवत जावतमा कडा निगरानीका साथै आवत जावत गर्नेहरूको व्यक्तिगत विवरण संकलन गरिदैछ । 


सीमा क्षेत्रमा नेपाली नागरिकहरूको लाईन लगाएर भइरहेको चेकजाँच प्रति उद्योग वाणिज्य संघ दार्चुलाका निवर्तमान अध्यक्ष मंगल सिह ठगुन्नाले भारतीय पत्रिका हिन्दुस्तान दैनिक संग उक्त कदम गलत भएको बताएका छन् ।
भारतीय बजार धार्चुला प्रवेश गर्न नेपाल–भारत जोड्ने खलंगाको सीमा पुलमा एसएसबीले नेपाली नागरिकलाई अनिवार्य परिचयपत्र देखाउन साइनबोर्डमा सूचना नै राखेको छ । 


हरेक दिन मदजुरी र काम विशेषले भारत जानेलाई पनि परिचयपत्र अनिवार्य गरिएको छ । सामान किनबेच गर्न भारतीय बजार धार्चुला जाने नेपालीहरूको पुलमै लाइन लगाएर एसएसविले नागरिकता वा परिचयपत्र हेरेर मात्रै भारतीय क्षेत्रमा प्रबेश दिइरहेको छ । ‘पुलमै लाईन लगाएर एसएसबीले नेपाली नागरिकहरूलाई हेप्ने गरेको नेपाली नागरिकहरुको गुनासो छ ।
राहदानी, नागरिकता, मतदाता परिचयपत्र, सरकारी निकायको परिचयपत्र मध्ये एउटा परिचयपत्र देखाए मात्रै भारत जान दिइदैछ । ५ प्रकारका परिचयपत्र मध्ये कुनै एउटा देखाएमा मात्रै भारत प्रवेश गर्न दिइने एसएसबीको सूचना पाटीमा उल्लेख छ ।
सीमानाकामा भारतीय एसएसबीले नेपाली नागरिकहरुलाई विभिन्न बाहानामा दुःख दिने गरेको छ । कहिले पिसिआर रिर्पाेट, कहिले परिचय पत्र त कहिले खोप लगाएको कार्ड माग्दै धार्चुला प्रवेशमा रोक लगाउने गरेको स्थानियको गुनासो आउने गरेको छ ।