अझै स्वदेशको बाटो प्रयोग गरेर सदरमुकाम आउन सक्दैनन् कालापानी क्षेत्रका बासिन्दा

0
1222
फाइल फोटोः तिंकर गाउँ

दार्चुला, असोज ३० गते ।
ब्यास गाउँपालिकाको वडा नं १ का गाउँहरु छाङरु र तिंकरका बासिन्दाहरु नेपालको बाटो भएर सदरमुकाम आवतजावत गर्न सक्ने अवस्था छैन । घाटीबगड क्षेत्रको ५ सय ५० मिटर कडा चट्टानीबाटो नेपाली सेनाको निर्माण सम्पन्न गरेको भएपनि तम्पाकु क्षेत्रको बाटो निर्माण नहुदाँ जनावर सहित आवतजावत गर्न समस्या रहेको ब्यासका स्थानियहरुले बताएका छन् । छाङरु र तिंकर उच्च हिमाली गाउँ भएकाले त्यस क्षेत्रका बासिन्दा गर्मी सिजनका छ महिना उक्त क्षेत्रमा र छ महिना दार्चुला सदरमुकाम खलंगामा बसोबास गर्ने गर्दछन् । स्थानिय भाषामा यस्तो मौषमी बसाई सराईलाई कुञ्चा सर्नु भनिन्छ । विगतमा भारतको बाटो भएर आवत जावत गर्ने भएपनि यस बर्ष भारत संगका सिमानाका बन्द रहेका कारण नेपालको बाटो प्रयोग गर्नुपर्ने स्थानियहरुलाई बाध्यता छ ।
हिउदको समय सुरु भइरहेकाले दार्चुला सरदमुकाम झर्न तम्बाकु क्षेत्रका बाटो राम्रो नहुदा नेपालको बाटो भएर आउन समस्या रहेको स्थानिय योगेश बहादुर बोहराको भनाई छ ।
तम्बाकु भिरको बाटोमा कुञ्चा सर्दा जनावर सहित आवतजावत गर्न सकिने अवस्था नरहेको उहाँको भनाई छ ।
व्यास गाउँपालिका वडानम्बर १ छाङरु र तिंकर बस्ने स्थानियहरुले विहिबार जिल्ला सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गर्दै स्वदेशकै बाटो भएर कुञ्जा सर्न तम्बाकु क्षेत्रमा चौपाया पास हुने घोटेडो बाटो छिट्टै निर्माण गरिनुपर्ने माग गरेका छन् ।
व्यास गाउँपालिका वडानम्बर १ स्थानिय योगेस बोहराले भने छाङरु र तिंकरका लागि घोरेटो बाटो निर्माणमा थुप्रै बजेट विनियोजन गरिएको भएता पनि बजेट अनुसारको बाटो निर्माण नहुँदा विदेशकै भुमि भएर आवजजावत गर्नु परेको बताउनुभयो । पंञ्चायती व्यवस्थादेखि हालसम्म व्यास क्षेत्रमा घोरेटो बाटोको नाममा थुप्रै वजेट खर्च भएता पनि काम नगरी बजेट पचाएकोले सधै विदेशी भुमीबाट बसाई सराँइ गर्नुपरेको बोहराको भनाई छ । उपभोक्ता समितिबाट घोरेटो बाटो निर्माण गराँउदा बजेट मात्रै खर्च भइरहेको र उपलब्धी शुन्य रहेको स्थानिय दिपक बोहराको भनाई रहेको छ । तम्बाकु क्षेत्रमा पनि नेपाली सेनाद्धारा बाटो निर्माण गरिनुपर्ने स्थानियले माग गरेका छन् । घाँटीबगरमा नेपाली सेनाले ५ सय ५० मिटर घोरेटो बाटो निर्माण सम्पन्न गरेको भएता तम्बाकु क्षेत्रमा चौपाया हिड्ने बाटो नहुँदा कुञ्जा सर्न समस्या भएको हुँदा नेपाली सेनाद्धारा नै बाटो निर्माण गरिनुपर्ने स्थानियहरुले माग गरेका छन् ।



उपभोक्ता समिति, ठेकेदारहरुबाट बाटो निर्माण गर्छन भन्ने कुनै आश नभएको बोहराको भनाई छ । पञ्चायती व्यवस्था देखि बहुदल हुदै संघियता व्यवस्था सम्म बाटोको नाममा धेरै रकम खर्च हुदा पनि सधै भारतको बाटो भएर स्वदेश फर्किनुपर्दा असहज महसुस हुने गरेको स्थायिन बोहराको भनाई छ । स्थानिय सरकारले पनि थुप्रै बजेट खर्च गरेता पनि बाटोको प्रगती शुन्य रहेको उहाँको भनाई छ । विना प्राविधिक इष्टमेट अनुसार गाउँपालिकाको बजेट खर्च भइरहँदा बाटो निर्माण उल्लेख्य सुधार हुन नसकेको स्थानियहरुको भनाई छ ।