व्यासका लागि चामल र हेलिकोप्टर खलंगा आइपुग्यो

0
1287
फाईल फोटो

दार्चुला, असार २७ गते ।
नेपाल सरकारको ढुवानी अनुदानमा व्यास गाउँपालिकाको वडा नम्बर १ स्थित छाङरु र तिंकर गाउँका लागि २ सय क्वीन्टल चामल ढुवानी सुरु भएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुर्खेतबाट खलंगासम्म सडकमार्ग र खलंगाबाट व्याससम्म हेलिकोप्टरमार्फत चामल ढुवानी गराउन लागेको हो ।
नीजि वायुसेवा कम्पनी माउन्टेन हेलिकोप्टरले चामल ढुवानीको जिम्मेवारी पाएको छ । छाङरु र तिंकर गाउँमा एक÷एक सय क्वीन्टल चामल ढुवानी गरिदैछ । सुर्खेतस्थित कम्पनीको गोदामबाट सडकमार्ग हुँदै दार्चुला सदरमुकामसम्म चामल ढुवानी भइसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सुर्खेतस्थित प्रादेशिक प्रमुख भीमवहादुर थापाले बताउनुभयो । एक ट्रक चामल विहिवार र दोस्रो ट्रक चामल शुक्रवार खलंगा पुर्याइएको उहाँले बताउनुभयो ।
कम्पनीले टेण्डरमार्फत चामल ढुवानी गराउन लागेको छ । खलंगाबाट व्याससम्म जोड्ने पैदल बाटो सञ्चालनमा नभएकाले हेलिकोप्टरमार्फत ढुवानी गरिदैछ । माउन्टेन हेलिकोप्टरको ५ सिट क्षमताको हेलिकोप्टर चामल ढुवानीका लागि शुक्रवार साँझ खलंगा ल्याइएको छ ।
नाइन एन एएलडी कलसाइनको हेलिकोप्टरले तिन दिनमा खलंगाबाट व्यासक्षेत्रमा चामल ढुवानी गरिसक्ने माउन्टेन हेलिकोप्टरका प्रतिनिधि सञ्जीव भण्डारीले बताउनुभयो । ‘मौसम खुलेमा दुई दिनमै पनि चामल ढुवानी हुन्छ’ उहाँले भन्नुभयो ।
हेलिकोप्टरबाट एकपटकमा ५ देखि साढे ५ क्वीन्टल चामल ढुवानी हुनेछ । यस हिसाबले चामल ढुवानी गर्न करिब ४० पटक हेलिकोप्टर उडाउनुपर्ने माउन्टेन हेलिकोप्टरका प्रतिनिधि भण्डारीले बताउनुभयो ।
सुरुमा खलंगाबाट व्यासको छाङरु गाउँमा सबै चामल ढुवानी गरिनेछ । छाङरुबाट तिंकर गाउँका लागि १ सय क्वीन्टल चामल हेलिकोप्टरमार्फत ढुवानी गरिने व्यास गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले बताउनुभयो । उचाईमा उडान गर्नुपर्ने भएकाले छाङरुदेखि तिंकरसम्म एकपटकमा ४ क्वीन्टल चामल मात्रै ढुवानी गर्ने योजना छ ।
खलंगाबाट हेलिकोप्टरमार्पmत छाङरु पुर्याइने चामल स्वास्थ्य चौकीको भवनमा भण्डारण गरिनेछ । छाङरु गाउँको छेउमै रहेको स्वास्थ्य चौकी नजिकै हेलिकोप्टर ल्याण्ड गरिने वडाअध्यक्ष अशोक सिंह बोहराले बताउनुभयो ।
माउन्टेन हेलिकोप्टरले सुर्खेतबाट खलंगा हुँदै व्यासक्षेत्रसम्म चामल ढुवानीको ठेक्का पाएको छ । प्रति किलोग्राम २ सय ४९ रुपैयाँमा ढुवानी सम्झौता भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ । हेलिकोप्टरमार्फत २ सय क्वीन्टल चामल ढुवानी गर्न झण्डै ५० लाख रुपैयाँ खर्च हुँदैछ ।
मौसम नखुल्दा हेलिकोप्टर उडेन
व्यासक्षेत्रमा चामल ढुवानीका लागि शनिवार विहान साढे ५ बजे नै हेलिकोप्टर उडाउने योजना थियो । तर मौसम नखुल्दा हेलिकोप्टर उडन नसकेको माउन्टेन हेलिकोप्टरका प्रतिनिधि सञ्जीव भण्डारीले बताउनुभयो ।
मौसम खुल्ने वित्तिकै व्यासको छाङरुसम्म सबै खाद्यान्न ढुवानी गरिने उहाँले बताउनुभयो । छाङरुबाट तिंकरका लागि चामल ढुवानी गरिनेछ । व्यासक्षेत्रको मौसमी अवस्थाबाट प्रहरीमार्फत जानकारी प्राप्त भइरहेको भण्डारीले बताउनुभयो ।
हेलिकोप्टरको पहिलो उडानमा मान्छे मात्रै बोक्ने योजना छ । चामल ढुवानी तथा भण्डारणको व्यवस्था गर्न गाउँपालिका अध्यक्ष दिलिप सिंह बुढाथोकी, वडा नम्बर १ का वडाअध्यक्ष अशोक सिंह बोहरा, गाउँ कार्यपालिका सदस्य वासुदेव सिंह ऐतवाल र नेपाली काग्रेसका जिल्ला सभापति ललित सिंह बोहरा हेलिकोप्टरमार्फत व्यासक्षेत्र जाने तयारी छ ।
धेरैपटक हेलिकोप्टरले उडान गर्नुपर्ने भएकाले हवाइ इन्धन पनि खलंगा ल्याइएको छ । चामलसंगै हवाइ इन्धन पनि खलंगासम्म ढुवानी भइसकेको माउन्टेन हेलिकोप्टरका प्रतिनिधि सञ्जीव भण्डारीले बताउनुभयो ।
दत्तुको सकारमा आकस्मिक अवतरण
खाद्यान्न ढुवानीका लागि दार्चुला सदरमुकाम आउदै गरेको माउन्टेन हेलिकोप्टरको सानो हेलिकोप्टर शुक्रवार साँझ दत्तुको सकारमा आकस्मिक अवतरण भएको छ । मौसम खरावीका कारण सकारको खेलमैदानमा हेलिकोप्टर ल्याण्ड गरिएको माउन्टेन हेलिकोप्टरका प्रतिनिधि सञ्जीव भण्डारीले बताउनुभयो ।
शुक्रवार साँझ साढे ५ बजेतिर ठूलो झरी परेको थियो । झरीसंगै धापक्षेत्रको आकाश वादलले ढाकिएपछि खलंगा पुग्नेक्रममा हेलिकोप्टर सकारमै रोकिएको थियो । एक घण्टापछि सकारबाट हेलिकोप्टर उडेको थियो । ‘सुरुमा सकारक्षेत्रको सडकमै हेलिकोप्टर ल्याण्ड भइरहेको जस्तो देखियो, एकछिन पछि नजिकैको सकार खेलमैदानमा ल्याण्ड भयो’ काकडाका स्थानीय पप्पु सामन्तले भन्नुभयो । एकजना विदेशी र एकजना नेपाली पाइलटले माउन्टेन हेलिकोप्टरको हेलिकोप्टर उडाउने छन् ।