विद्युतीकरणको माग गर्दै दार्चुलाको विद्युत लाईन काटियो

1004

दार्चुला, माघ ०७ गते । विद्युतीकरणको माग गर्दै शैल्यशिखर नगरपालिकाका स्थानियहरुले विद्युत लाइन काटेका छन् । ३० मेगावाट क्षमता रहेको चमेलिया जलविद्युत आयोजना रहेको जिल्लाका गाउँहरु विद्युतीकरणको ढिलासुस्तीका कारण अध्यारोमा रहेको भन्दै स्थानियहरुले आन्दोलन गरेका छन् ।
आन्दोलन गरिरहेको समुहले शैल्यशिखर नगरपालिकाको वडा नं ५ बगौरा क्षेत्रमा राष्ट्रिय प्रसारण लाईन काट्दा दार्चुला सदरमुकाम खलंगा सहितका क्षेत्रहरुको विद्युत अवरुद्ध भएको छ । राष्ट्रिय प्रशारण लाईन काटिएसंगै महाकाली नगरपालिका, दुहूँ गाउँपालिका र ब्याँस गाउँपालिका अन्धकार बनेका छन् ।
दार्चुलामा उत्पादित विद्युत्ले बाह्य जिल्ला झिलिमिली भएपनि दार्चुला जिल्लाका अधिकांश बस्ती अन्धकार रहेकाले स्थानीयहरु आन्दोलन गर्न बाध्य भएको संघर्ष समिति संयोजक किसन सिंह डाँगाको भनाई छ । केहि दिन देखि सडक आन्दोलन गरिरहेका स्थानियहरुले बुधबार बेलुका देखि बगौरा क्षेत्रमा विद्युतको लाईन काटेका हुन् । मंगलबार चार घण्टा महाकाली लोकमार्ग अबरुद्ध गरेका स्थानीयहरुले बुधबार बिहान ११ बजेदेखि ४ बजेसम्म सडक आन्दोलन गरेका छन् ।


आन्दोलित बनेका स्थानीयहरुले ‘काम गराउन नसक्ने विद्युत् प्राधिरकण मुर्दाबाद, कामचोर ठेकेदार मुर्दाबाद’ भन्दै नाराबाजी गरेका थिए आन्दोलनमा वडा नम्बर ५ का वडाध्यक्ष मदनसिंह रावल, कार्यपालिका सदस्य द्रोपती डाँगा लगायत जनप्रतिनिधिको पनि सहभागिता रहेको थियो । आफ्ना मागहरु पूरा नभए आन्दोलन जारी राख्ने आन्दोलनरत पक्षको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !