वर्षातले विओपी उद्घाटन दुइ दिन सर्यो

901
फाइल फोटो

दार्चुला, असार १७ गते ।
दार्चुलामा मंगलवार हुने भनिएको विओपी उद्घाटनको कार्यक्रम दुई दिन सरेको छ । वर्षाले सडक मार्ग अवरुद्ध भएपछि सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट (विओपी) असार १८ गते हुने भएको हो । यसअघि लाली, जोलजिवि र दुम्लिङमा असार १६ गते विओपी उद्घाटन गरिने कार्यतालिका बनाइएको थियो ।
सशस्त्र प्रहरीका सुदूरपश्चिमस्थित वैद्यनाथ बाहिनीपति डिआइजी हरिशंकर बुढाथोकी बुधवार दार्चुला पुग्दैछन् । डिआइजी बुढाथोकीले मंगलवार नै एकैदिन तिनवटा विओपी उद्घाटन गर्ने कार्यक्रम थियो । वर्षाले सडक मार्ग अवरुद्ध भएकोले विओपी उद्घाटन दुई दिन सरेको दार्चुलास्थित सशस्त्र प्रहरीका गुल्मपति डिएसपी डम्बरवहादुर विष्टले बताउनुभयो ।
महाकाली लोकमार्गअन्तर्गत मालिकार्जुन गाउँपालिकाको तेर्छालेक क्षेत्रमा सडक अवरुद्ध भएको थियो । दार्चुलामा सडक अवरुद्ध भएपछि सशस्त्र प्रहरीका डिआइजी बुढाथोकी बैतडीको पञ्चेश्वरस्थित विओपी उद्घाटन कार्यक्रममा सहभागी भएका छन् । पञ्चेश्वरमा मंगलवार विओपी उद्घाटन गरिएको छ ।
असार १८ गते एकैदिन लेकम गाउँपालिकाको वडा नम्बर ३ लाली, मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ७ जोलजिवी र व्यास गाउँपालिकाको वडा नम्बर २ दुम्लिङमा विओपी उद्घाटन हुँदैछन् । तिनवटै स्थानमा विओपी उद्घाटनको तयारी पूरा भएको डिएसपी विष्टले जानकारी दिनुभयो ।
तिनवटै विओपीमा २०÷२० जना सुरक्षाकर्मी खटाइएका छन् । विओपीको नेतृत्व सशस्त्र प्रहरी नायव निरीक्षकले गर्नेछन् । केही समयपछि भने सशस्त्र प्रहरी निरीक्षकले नै विओपीको कमाण्ड गर्ने डिएसपी विष्टले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !