लाली, जोलजिवी र दुम्लिङमा मंगलवार विओपी राखिदै

1252
फाइल फोटो

दार्चुला, असार १४ गते ।
दार्चुलाको नेपाल–भारत सीमावर्ती क्षेत्रमा तत्काल तीन विओपी थपिदैछन् । सशस्त्र प्रहरी वलले लाली, जोलजिवि र दुम्लिङमा असार १६ गते सुरक्षा पोष्ट स्थापना गर्दैछ । विओपी स्थापनाको तयारी भइसकेको खलंगास्थित सशस्त्र प्रहरीको ५० नम्बर गुल्म हेडक्वाटरले जानकारी दिएको छ ।
जिल्ला सुरक्षा समितिबाट जेठ २३ गते लेकम गाउँपालिकाको वडा नम्बर ३ लाली र मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ७ जोलजिविमा विओपी स्थापनाको निर्णय भएको थियो । प्रहरी प्रधान कार्यालय (हेडक्वाटर) हुँदै गृह मन्त्रालयबाट स्वीकृति प्राप्त भइसकेको गुल्मपति डिएसपी डम्बरवहादुर विष्टले बताउनुभयो ।
व्यास गाउँपालिकाको वडा नम्बर २ राप्लाको दुम्लिङमा पनि विओपी राख्न जिल्ला सुरक्षा समितिमा जेठ ३१ गते निर्णय भएको थियो । सशस्त्र प्रहरीको हेडक्वाटर र गृह मन्त्रालयबाट तिनवटै स्थानमा विओपी राख्न एकैसाथ स्वीकृति मिलेको छ ।
विओपि उद्घाटनका लागि सुदूरपश्चिम प्रदेशस्थित सशस्त्र प्रहरी प्रमुख एवं डिआइजी हरिशंकर बुढाथोकी दार्चुला आउदैछन् । जोलजिवि र लालीको विओपि उद्घाटनमा डिआइजी बुढाथोकी सहभागी हुने कार्यक्रम छ । दुम्लिङको विओपि भिडियो सम्पर्कबाट डिआइजी बुढाथोकीबाट उद्घाटन गरिने गुल्मपति डिएसपि डम्बरवहादुर विष्टले बताउनुभयो ।
लाली र जोलजिविमा नेपाल–भारत जोड्ने सीमानाका छ । महाकाली नदीमाथिको झोलुंगे पुलले दुई देशलाई जोडेको छ । सशस्त्र प्रहरीको विओपि सीमानाका र सीमाक्षेत्रलाई लक्षित गरी राखिन लागेको सशस्त्र प्रहरीका डिएसपि विष्टको भनाई छ ।
राप्लाको दुम्लिङमा राखिने विओपीले सदरमुकामभन्दा माथि उत्तरीक्षेत्रको सीमा सुरक्षा गर्नेछ । महाकाली नदी किनारको सीमाक्षेत्र लामो भएकोले व्यास गाउँपालिकाको वडा नम्बर २ राप्लाको दुम्लिङ–दोपाखे–घाटिबगड–बयलीधार क्षेत्रमा दुम्लिङको विओपीले नियमित गस्ती गर्नेछ । आवश्यकताअनुसार दोपाखे, बुँदीसम्मको क्षेत्रमा पनि दुम्लिङको विओपीबाट गस्ती हुने सशस्त्र प्रहरीको भनाई छ ।
दुम्लिङमा घरभाडा लिएर विओपी स्थापना हुँदैछ । व्यास गाउँपालिकाले घरभाडा तिर्ने गरी व्यवस्थापन गरिएको ५० नम्बर गुल्म हेडक्वाटरले जनाएको छ । जोलजिविमा छोटी भन्सार कार्यालयको भवनमा विओपि राखिदैछ । लालीमा लेकम गाउँपालिकाको ३ नम्बर वडा केन्द्रमा रहेका सरकारी भवनमा विओपी राखिदैछ ।
विओपी स्थापनामा स्थानीय तह र जनताको महत्वपूर्ण सहयोग प्राप्त भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । ‘सुरक्षा पोष्ट स्थापनाको मागका साथै व्यवस्थापनमा पनि जनता र स्थानीय तहबाट सहयोग मिलेको छ’ सशस्त्र प्रहरीका डिएसपि विष्टले भन्नुभयो ।
भारतबाट अतिक्रमित नेपाली भूमि नजिकको व्यासको छाङरुमा वैशाख ३१ गते विओपि स्थापना गरिएको थियो । अतिक्रमित भूमि नजिकको कौवाक्षेत्र र चीन सीमानजिकको तिंकरमा थप विओपि राख्ने योजना छ । महाकाली नगरपालिकाको वडा नम्बर ९ दत्तु र व्यास गाउँपालिकाको केन्द्र सुन्सेरामा पनि विओपि राख्नेबारे जिल्ला सुरक्षा समितिले निस्कर्ष निकालेको छ । कौवाक्षेत्र, तिंकर, दत्तु र सुन्सेरामा नयाँ आर्थिक वर्षमा विओपी राखिने गुल्मपति विष्टको भनाई छ ।
दार्चुलास्थित सशस्त्र प्रहरीको गुल्मलाई गणको संरचनामा स्तरोन्नती गरिएपछि सबै ठाँउमा विओपि सञ्चालनमा आउने जनाइएको छ । महाकाली नगरपालिकाको दत्तुमा नेपाल–भारत जोड्ने सीमानाका छ । सीमानाका र सीमाक्षेत्रका साथै सुरक्षा संवेदनशीलता भएका ठाँउमा विओपी राख्नेबारे जिल्ला सुरक्षा समितिले आकलन र छलफल गरेको एक सुरक्षा अधिकारीको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !