मित्रताको व्यवहार गर्न भारतलाई मुख्यमन्त्रीको आग्रह

149

दार्चुला, असोज २० गते ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालसंग मित्रताको व्यवहार गर्न भारतलाई आग्रह गर्नुभएको छ । भारतीय सडक निर्माणले नेपालको पैदल बाटो क्षतिग्रस्त भएकोमा आपत्ति जनाउदै मुख्यमन्त्रीले यस्तो आग्रह गरेका छन् ।
नेपाली सेनाले घाटिबगर क्षेत्रमा निर्माण गरेको पैदल बाटाको हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा सहभागी हुन असोज १९ गते दार्चुला पुगेका मुख्यमन्त्रीले यस्तो प्रतिक्रिया दिएका हुन् । सोमबार दिउसो सेनाको हेलिकोप्टरमार्फत घाटिबगर क्षेत्र पुगेर स्थलगत अवलोकन गरेका मुख्यमन्त्रीले सदरमुकाममा पत्रकारसंग प्रतिक्रिया दिएका छन् । ‘छिमेकीलाई अप्ठ्यारो पार्ने काम गलत हो, यो हुनुहुँदैन’ मुख्यमन्त्री भट्टले भन्नुभयो, ‘मित्रराष्ट्र भनेको एकअर्कासंग मित्रतासहित काम गर्नुपर्छ । कसैलाई हेप्नु हुदैन । कुनै समस्या भए कुटनीतिक रुपमा समाधान गर्नुपर्छ ।’
मुख्यमन्त्री भट्टले यसका लागि नेपाल सरकारले पहल गर्ने बताउँदै भारतीय सडक निर्माणको विस्फोटनले ‘हामीलाई अप्ठ्यारो पार्ने काम हुनुहुँदैन, जनतालाई अप्ठ्यारो पार्ने काम हुनुहुदैन’ भन्नुभएको छ ।
मुख्यमन्त्री भट्टले सोमबार सेनाले घाटिबगर क्षेत्रमा निर्माण गरेको ५ सय ५० मिटर लामो पैदल बाटोको उद्घाटन समेत गरेका छन् । सेनाले चट्टान फुटाएर बनाएको बाटो प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।
व्यासक्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउदै मुख्यमन्त्री भट्टले बाटो, खाद्यान्नलगायत आधारभूत सुविधा उपलब्ध गराउने प्रतिवद्धता गर्नुभएको छ । घाटिबगर क्षेत्रको ५ सय ५० मिटर बाटो सेनाबाट निर्माण भए पनि घाटिबगरदेखि दक्षिणतर्फ तम्बाकु क्षेत्रमा भारतीय सडक निर्माणका कारण नेपालको बाटो क्षतिग्रस्त भएको छ ।
भारतीय पक्षले घाटिबगर क्षेत्रको बाटो निर्माणमा पनि अवरोध गरेको थियो । नेपाली सेनाको टोलीले महाकाली नदीको खोचको भिरालो चट्टान फुटाउदा नदी पारीबाट जिलेटिन पडकाएर हप्तौंसम्म अवरोध गरिएको थियो । भारतीय अवरोध, कठिन भूगोल र वर्षातको समयमा पनि सेनाको टोलीले मिहिनेत गरी पैदल मार्ग खुलाएको हो ।
तम्बाकु क्षेत्रमा मान्छे हिडडुल गर्ने बाटो भए पनि गाइवस्तु हिडनलायक बाटो छैन । स्थानीय र प्रदेश सरकारले त्यसक्षेत्रको बाटो सुधार गर्ने मुख्यमन्त्री भट्टले बताउनुभयो । ‘आवश्यकता अनुसार सेनाले विस्फोटक पदार्थको प्रयोग गर्छ, यसका लागि हामी समन्वय गर्छौ’ उहाँले भन्नुभयो ।
सोमबारको बाटो हस्तान्तरण तथा उदघाटन कार्यक्रममा प्रदेशसभा सदस्य गेल्बु सिंह बोहरा, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव रामकृष्ण सुवेदी, नेपाली सेनाका सुदूरपश्चिम पृतनापति उपरथी निर्मलकुमार थापा, सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेल लगायतका अधिकारीहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !