छाङरुमा फोरजी सेवाको तयारी

0
1589

दार्चुला, असार १४ गते ।
त्रिदेशीय सीमाक्षेत्रमा पर्ने व्यास गाउँपालिकाको वडा नम्बर १ छाङरुमा नेपाल टेलिकमले फोरजी सेवा पुर्याउने तयारी गरेको छ । अतिक्रमित नेपाली भूमि नजिकैको छाङरु गाउँमा नमस्ते मोबाइलबाट फोरजी सेवा पुर्याउने गृहकार्य भइरहेको छ ।
नेपाल टेलिकमले छाङरुमा फोरजी सेवा सञ्चालनका लागि नयाँ टावर जडानको टेण्डर गरिसकेको छ । ‘व्यासको टावरका लागि टेण्डर भइसकेको छ, लकडाउनका कारण सामान ढुवानीमा केही ढिलाइ भएको छ’ टेलिकम दार्चुलाका प्रमुख कृष्णवहादुर गुरुङले भन्नुभयो ।
फोरजी सेवाका लागि नमस्ते मोबाइलको टावर बनाउन हुवेइ कम्पनीले ठेक्का पाएको छ । छाङरु गाउँको छेउमा रहेको ज्याक्ती भन्ने ठाँउमा ३५ मिटर लामो टावर बनाइने भएको छ । दुहुँ र व्यास गाउँपालिकाको सिमाक्षेत्र रहेको ब्रह्मलेक क्षेत्रबाट व्यासको टावरलाई लिंक दिइने टेलिकम दार्चुलाका प्रमुख गुरुङले जानकारी दिनुभयो ।
हाल व्यासक्षेत्रमा स्काई मोबाइल सेवा मात्रै पुर्याइएको छ । व्यासको स्काई टावरलाई लिंक दिने ठाँउ नहुँदा हाल स्याटेलाइट लिंकमार्फत सेवा सञ्चालन गरिएको छ । छाङरु नजिकको ज्याक्तीमा निर्माण गरिने टावरमा भने कैचुला टावर नजिकको ब्रह्मलेकबाट लिंक जोड्ने योजना छ ।
छाङरुस्थित स्वास्थ्य चौकी भवन नजिक पोल गाडेर ज्याक्ती टावरसंग लिंक जोडिनेछ । व्यासको टावर जडानका लागि सोलार, व्याट्रीसहितका सामग्री तयारी अवस्थामा रहेका छन् । ‘हामीलाई सामान ढुवानीमा समस्या छ, सामान ढुवानी तत्काल हुन सके एक महिनाभित्रै व्यासमा फोरजी सेवा पुग्छ’ टेलिकम दार्चुलाका प्रमुख कृष्णवहादुर गुरुङले बताउनुभयो ।
व्यासमा नयाँ टावर जडान गरी फोरजी सेवा सञ्चालनका लागि १ नम्बर वडा कार्यालयले दुइ ठाँउमा पूर्वाधार निर्माण गर्दैछ । ज्याक्ती र छाङरुको स्वास्थ्य चौकी नजिक उपकरण राख्ने घर निर्माण भइरहेको १ नम्बर वडाअध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो ।
तिंकरमा स्काइ टावर जोडिने
व्यासको छाङरुमा नमस्ते मोबाइलको टावर सञ्चालन भएपछि तिंकरमा स्काई मोबाइलको टावर राखिने योजना छ । हाल व्यासको भोलिङ क्षेत्रमा रहेको स्काई मोबाइल टावरलाई तिंकर सारिने टेलिकम दार्चुलाका प्रमुख कृष्णवहादुर गुरुङले बताउनुभयो ।
छाङरुमा राखिने नमस्ते टावरले तिंकर गाँउसम्म कभरेज नपुग्ने भएकोले तिंकरका लागि छुट्टै टावर राखिने उहाँको भनाई छ । स्याटेलाइट लिंकमार्फत सञ्चालन भइरहेको व्यासको स्काई टावरलाई तिंकरमा सारिने छ ।
हालकै स्थानमा रहेको टावरबाट अहिले पनि तिंकरमा मोबाइल सेवा टिपिरहेको छ । गुणस्तरीय सेवाका लागि तिंकर गाँउ नजिकनै टावर सार्ने टेलिकमको योजना छ । छाङरुमा राखिने नमस्ते मोबाइलको लिंक जोड्न सम्भव भए त्यो विकल्प पनि अपनाइने टेलिकम प्रमुख गुरुङले जानकारी दिनुभयो ।