घाटिबगरमा बाटो खोल्न एक महिना लाग्नसक्छ ः सैनिक प्रवक्ता

0
998

दार्चुला, साउन ८ गते ।
दार्चुलाको व्यास क्षेत्र जोड्ने पैदल बाटो सञ्चालनमा ल्याउन एक महिना लाग्ने भएको छ । कठिन भूगोल, भिरालो चट्टान र लगातारको वर्षाले घाटिबगर क्षेत्रमा बाटो खोल्न समय बढी लागेको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताउनुभयो ।
‘सेनाको टोलीले निरन्तर काम गरिरहेको छ, भूगोलको कठिनाई र लगातारको वर्षाले चुनौती थपेको छ’ उहाँले भन्नुभयो । व्यासक्षेत्र जोड्ने पैदल बाटोअन्तर्गतको व्यास गाउँपालिकाको वडा नम्बर २ को घाटिबगर क्षेत्रमा ४ सय ५० मिटर लामो चट्टान फुटाउन जेठ ९ देखि सेनाको टोली परिचालन भएको थियो ।
अहिले दैनिक ५ देखि ७ मिटर बाटो निर्माण भइरहेको सेनाका प्रवक्ता पौडेलले बताउनुभयो । ‘अहिलेसम्म २ सय ५० मिटर बाटो बनिसकेको छ, बाँकी २ सय मिटर बाटो निर्माण गर्न करिब एक महिना लाग्नसक्छ’ उहाँले भन्नुभयो ।
घाटिबगरको मौराभिर चट्टानमा बाटो खोल्न बाँकी २ सय मिटरमध्ये ३० मिटरमा थप काम भइरहेको छ । ‘हालसम्म २ सय ८० मिटरमा काम भइरहे पनि २ सय ५० मिटर लामो बाटोको ट्रयाक मापदण्डअनुसार खोलिसकेका छौ’ नेपाली सेनाका प्रवक्ता पौडेलले भन्नुभयो । व्यास जोड्ने पैदल बाटो यथाशीघ्र सञ्चालनमा ल्याउने उद्देश्य भए पनि भौगोलिक र प्राविधिक कठिनाइ भोग्नुपरेको सेनाको भनाई छ ।
सुरुमा एक महिनामै उक्त क्षेत्रको बाटो खुलाउने लक्ष्य राखिएको थियो । नेपाली सेनाले असार महिनाभित्रै व्यासको बाटो सञ्चालनमा आउने बताएको थियो । तर जटिल भूगोल, निरन्तरताको वर्षात र भारतीय अवरोधले पैदल बाटो खोल्न ढिलाइ भएको छ । नेपाली सेनाले औपचारिक रुपमा भारतीय पक्षको अवरोधबारे जानकारी दिएको छैन । यद्यपि घाटिबगर क्षेत्रमा भारतीय सडक निर्माणमा प्रयोग भइरहेको जिलेटिनको विस्फोटनबाट नेपालको बाटो निर्माणमा अवरोध हुँदैआएको छ ।
नेपाली सेनाले जिल्ला प्रशासन कार्यालयमार्फत यसबारे भारतीय पक्षसंग समन्वय गराउन खोजेको छ । भारतीय प्रशासनसंग यसबारे समन्वय भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो । प्रशासनले दुई पटक पत्राचार र टेलिफोन सम्पर्क गरी भारतीय पक्षसंग समन्वय गरिएको जनाएको छ ।