कालापानी जान खोज्दा जब भारतीय सैनिकले भने ‘कहाँ जा रहें हो’

656

दिपक खाती । 

नेपालको अखण्ड छाती नेपाली माटो नेपालीको मुटु कालापानि, लिपुलेक र लिम्पियाधुरासम्म भारतले सडक पुर्याएपछि पुनःसारा देशभक्त नेपालीको मन दुख्यो । मुटु दुखाउने बर्षौ पुरानो घाउँ फेरी नबिन ताजा बनायो । हुन त कालापानी, लिपुलेक लिम्पियाधुराको बिषयमा पटक पटक पहिले देखिनै देशभक्त नेपालीले आन्दोलन गर्दै आईरहेका छन् ।


काठमाण्डौंमा कालापानी, लिपुलेक र लिम्पियाधुराको नारा लगाएर सडकका गल्लिहरु तताएर राष्ट्रियता पर्दशन भईरहेको थियो, र सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूगोल समेटेर नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा जारी गरेर सरकारको वाईवाई भईरहेको थियो । बिश्व कोरोना भाईरसको सन्त्रासमा बाचिरहेको थियो, सबै तिर लकडाउन थियो । दार्चुलामा ब्याँस गाउँपालिका वडा नं. १ का सौंका समुदायहरु आफ्नो गाउँ छाङ्गरु तिङ्कर जान नपाएर सरकारसंँग बाटोको निम्ति गुहार मागिरहेका थिए । ब्याँस १ का सौका समुदाय ६ महिना छाङ्गरु तिङ्कर र ६ महिना सदरमुकाम बसोबास गर्छन् । उनीहरु आफ्नो कुन्चा (पशु चौपाया) सहित बसाई सराई गर्छन् । नेपालबाट छाङ्गरु तिङ्कर जान बाटो छैन्, भारतकै बाटो प्रयोग गरेर जानलाई सीमापूल बन्द छ । नेपाल सरकारको अनुरोधमा भारत सरकारले सीमापुल खोलेपछि भारतको बाटो हुदैँ आफनो गाउँ पुगे छाङ्गरु तिङकरबासी ।
सरकारले नयाँ नक्साजारी गरेपछि सीमानामा बस्ने नागरिक, त्यस क्षेत्रको अवस्थाको बारेमा बुझ्न त्यहाँका नागरिकको अवाज सरकारसम्म पुर्याउन त्यस क्षेत्रको बारेमा रिपोर्टिङ गर्न काठमाण्डौका पत्रकार शुभक महतो, फोटो पत्रकार प्रकाश गोपाली र दार्चुलाका पत्रकार नरेन्द्र कार्कीको टोली छाङ्गरु तिङ्कर जादैरहेछन् । २०७७ असार ८ गते साँझ ८ बजे म होटेलमा खाना खादै थिए, नरेन्द्र कार्की दाईको फोन आयो, मलाई छाङ्गरु तिङ्करसम्म जाने एक जना भरिया खोजिदेउ भनेर । मैले भने मलाई पनि तपाईकै टिममा छाङ्गरु तिङ्करसम्म लैजाने भएपछि भरिया खोज्छु नभए खोज्दैन् भनेर जिस्किदै भने नरेन्द्र दाईले जाउला भनेपिछ म हर्षित हुदै छाङ्गरु तिङ्करसम्म जाने ब्याँस ४ सुन्सेराको एक जना स्थानीय भरिया तयार गरे । असार ९ गते म दार्चुला सदरमुकाम खलंगाबाट सुन्सेरा आए । १०,११ गते गाउँ सभामा ब्यस्त भए र १२ गते छाङ्गरु जाने तयारीमा ब्यस्तरहे ।

असार १३ गते
म सुन्सेरामै थिए, नरेन्द्र दाईले बिहान ७ बजे फोन गर्नुभयो । हामी सदरमुकामबाट हिडिकक्यौ । हामीसंग जाने भरियालार्ई तयार गर्नु । मैले स्थानीय ज्ञानसिह खत्रीलाई तयार गरे । उ धेरै पटक छाङ्गरु तिङ्कर गएको र त्यस क्षेत्रको बारेमा राम्रो जानकार थियो । किन भने उ पहिले पनि त्यो क्षेत्रमा भारी बोक्ने काम गरिसकेको थियो । भूगोलको बारेमा जानकार थियो ।
साँझ ७ बजे सदरमुकामबाट नरेन्द्र कार्की, शुभक महतो र प्रकाश गोपाली टिम सुन्सेरा पुगे । सुन्सेरा पुगेपछि मात्रै हाम्रो चिनजान भयो । अलि गफगाफ गरेर भोली बिहान सुन्सेरा देखि दुम्लिङसम्मको गन्तब्य बनाएर ११ बजे सुत्यौं ।

असार १४ गते
उत्तर पट्टिको जेठी बहुरानी हिमालबाट सुर्यले उज्याला किरण छरेपछि हामी बिउँझियौ । घडीमा हेर्दा ७ बजेको थियो । सबैले नित्यकर्म गरेपछि नास्ता गर्यौ र सुन्सेराबाट पाईला अघि बढायौं । म निकै उत्साहित र हर्षित थिए, किनकि मेरो पहिलो यात्रा थियो जीवनको । मैले अहिलेसम्म धैरै लामो यात्रा गरेको थिएन । मसँग त्यो अनुभवको कमी थियो । सुन्सेरामा रहेको शक्तिशालि प्रसिद्ध मन्दिर गोरखनाथमा पुजा गरेर यात्रा अगाडि बढ्यौं । सुनसेराबाट देखिने हिमालको दृष्यले मन लोभ्याइसकेको थियो । त्यहीँ ठाउँ जादैछौ । दृश्य, हिमशृङखला, हरियाली बनपाखा नियाल्दै हाम्रा पाईलाहरु आफ्नै बेगमा अघि बढदै थिए ।
दार्चुला तिङ्कर सडक निमार्णको काम चलिरहेको थियो, सुन्सेरा भन्दा २—३ किलोमिटर अगाडि तुसरपानी गाउँमा सडक निमार्णका क्रममा चट्टान फुटाउने क्रममा माथिबाट पहिरो आएर डोजर नै पुरिएछ, चालक चाही सकुसल बाँच्न सफल भएछ । तुसरपानी गाउँपछि मालगाउँ आउँछ । मालगाउँ ब्याँस गाउँपालिकाको वडा नम्बर २ पर्छ । नरेन्द्र दाईका आफन्त माल गाउँमा बस्छन् । उहाँले आफ्नो आफन्तलाई फोन गरेर रोटि र महि ल्याउन भन्नुभयो । बाटोमा माल गाउँको माथि पञ्चायत कालमा बनेको ब्याँस जोड्ने घोरेटो बाटो छ । त्यहीँ बाटोको तल दार्चुला तिङ्कर सडक सर्भे भएको छ । नरेन्द्र दाईको आफन्तले ल्याएको रोटि र मही खाएर यात्रा अगाडि बढायौ । पारिपट्टि भारतको पंगाला र गस्कु भन्ने गाउँपर्छ त्यो गाउँमा नेपालीनै बस्छन् । हाम्रो नेपालको घोरेठो बाटो ठाउँठाउँमा भत्किएको थियो, भने भारततिर कालोपत्रे चारलेनको सडक निर्माण भएको थियो । त्यो सडक कालापानी, लिपुलेक सम्मको सडक थियो । त्यही सडकमा ५०—६० वटा सेनाका गाडीहरु कालापानी, लिपुलेकतर्फ लहरै हुइकिरहेका थिए । प्रकाश सरले त्यो दृश्य आफ्नो क्यामेरामा कैद गर्नुभयो । दिउँसो २ बजे तिर हामी काठेधार पुग्यौ । खाना खायौ अलि बिश्राम गरेपछि पाईलाहरु अगाडि बढायौ । हाम्रो गन्तव्य खलंगाबाट दोस्रो दिन र सुनसेराबाट पहिलो दिनको दुम्लीङ सम्मको थियो । गफगर्दै हिडिरहेको हामीमा थकानको महशुस भएको थिएन् । हामी आफ्नै गतिमा हिड्दै थियौ । समय आफ्नै गतिमा घर्किरहेको थियो । साँझ ६ बजे हामी दुम्लिङ पुग्यौ त्यहाँ जिवन दाईको होटलमा बस्यौ ।

असार १५
बिहान ठूलो पानि परिरहेको थियो । ७ बजे सबै उठ्यौ र नित्यकर्म गरेर नास्ता खाएर दुम्लिङबाट अगाडि हिड्यौ । प्रकाश गोपाली सर अलि थाकेकाले उहाँलाई हिड्न अपठ्यारो भईरहेको थियो । टिममा अलि जिउज्यान भएका थोरै पहाडको कम अनुभव भएका गोपाली हुनुहुन्थ्यो । त्यसैले प्रकाश सरको झोला बोक्न थप एक जना भरिया दुम्लिङबाट थप्यौ । त्यहाँबाट अगाडी बढ्यौ कल्जुमा ब्याँस जोडने घोरेटो बाटो निर्माण गर्ने २०।२२ जना युवा साथिहरु भेटिए । तिनीहरुसंग हामीले त्यस क्षेत्रको बारेमा भलाकुसारी गर्यौ । बाटोको बारेमा त्यस क्षेत्रको जनजीवनको बारेमा शुभक सरले अन्तरवार्ता लिए प्रकाश सरले क्यामेरामा कैद गरे । त्यो दृष्य साँझा कथामा समेत प्रसारण भइसकेको छ । कल्जुभन्दा अगाडीको बाटो निकै कष्टकर र जोखिम थियो । अब हाम्रो जोखिमको यात्रा सुरुभएको थियो, त्यही कल्जु अघिबाट । कल्जुभन्दा अगाडी तम्बाकु खोला भन्ने ठाउँ छ त्यहाँ बाटो छैन् । पहाड चडेर जानुपर्छ । नभए महाकाली पौडिएर जानुपर्छ । बर्षातको बेला भएकाले महाकालीमा पानीको वहाव अत्यधिक थियो । हामी सबै नयाँ मान्छे भएकाले हामीलाई त्यो तम्बाकुको भिर छिचोल्न अपठ्यारो होला भनि हामीले कल्जुबाट ४।५ जना केटाहरुलाई संगै लिएर आयौ । तलपट्टि महाकाली नदी सुसाहट गर्दै बगिरहेको छ । पारिपट्टि भारतले लिपुलेकसम्म जोडने सडक निर्माण गर्दा चट्टान बिष्फोट गरेर महाकाली नदीमा ढुङगा फालेर पुरै महाकाली नेपाल पट्टि फर्काएको थियो । हिड्दा हिड्दै हामी तम्बाकु भिरमा पुग्यौ । महाकालीको किनारमा भएको बाटो नदीले बगाउँदा अगाडि हिड्ने बाटो थिएन । किनारै किनार जाउँ भने पूरै महाकाली पल्टिएर आएको थियो । बाटो भत्किएको ठाउँबाट माथी पहाड चढेर तल झरेपछिमात्रै बाटो भेट्टिन्नथ्यो । अगाडि हामीलाई तम्बाकु भेल तार्न भनिआएका युवाहरु र पछाडि हामी थियौ । ती युवाहरुलाई पन्छ्याउदै भीरको घाँस समाउदै भीरपार गर्न लाग्यौ । पानी परेकाले ढुङ्गा घाँस चिप्लो थियो । हामीलाई भीरपार गर्न निकै गाह्रो भयो । अलिकति मात्रै चिप्लिए, सिधै महाकाली पुगिन्थ्यो । कम्मरमा रसि लगाएर जसोतसो भीरमाथि त उक्लियौ, तर अब तल कसरि झर्ने तल झरेपछि मात्रै बाटो भेटिन्छ । चट्टानमा रसि बाधेर घोप्टो परेर रसि समाएर भिरपार गर्यौ । त्यहाँ भन्दा नि अगाडि बाटो थिएन, । लुगा फुकालेर कम्मरसम्म नदीमा डुबेर महाकाली पार गरेर तम्बाकु झरनामा पुग्यौ । त्यो भीरपार गराउनमा दुम्लीङका मुकेश बुढाथोकीको टिमले निकै सहयोग गरे । सायद उहाँको टिम नभइदिएको भए अझै हामीलाई त्यो भीर छिचोल्न कष्टकर हुने थियो ।

जोखिमपुर्ण बाटो छिचोलेर यात्रा अघि बढ्दै

तम्बाकुमा रहेको मन्दिरमा पुजागरेर अगाडि बढ्यौ । दिउँसो २ बजे हामी घाटिबगड पुग्यौ । घाटिबगडमा नेपाली सेनाले ब्याँस जोड्ने घोरेटो बाटो निर्माण गरिरहेको थियो । त्यहाँ सेनासंग काम गर्ने ब्याँस ५ धौलाकोटका ५ जना रहेछन्, मजदुर । उनीहरुले हामीलाई खाना दिए र हामी त्यहाँबाट अगाडि बढ्यौ । १ घण्टा उकालो हिडेपछि हामी मौराभेल पुग्यौ । यो ठाउँपनि निकै जोखिम थियो । तल हेर्दा रिङगाठा लाग्ने बाटो, लड्यो भने जहाँ खाना खाएका थियौं त्यही पुग्ने गरीभीर देखिन्थ्यो । माथी हेर्न पूरै चट्टान थियो । उभिएर हिडौं भने भारी त्यही चट्टानमा ठोक्किने । भुईमा निहुरिएर त्यो चट्टान गर्नुपर्ने । निकै अपठ्यारो घुडा टेकेर हिड्नु पर्ने जसोतसो गरि त्यो भीरपनि पार गर्यौ । जोखिमसँग सामना गर्दै हामी साँझ ६ बजे दोपख्या भन्ने ठाउँमा पुग्यौ । त्यहाँ २।३ वटा खर्कहरु थिए । हामी त्यहीँ बस्यौ । त्यो खर्क दुम्लिङका एक जना दिदिको रहेछ, दिदिले मिठो चियाँ दिनुभयो र दिदि खाना बनाउन लाग्नुभयो । हामीहरु भलाकुसारी गर्दै थकान मेट्ने भनेर रमाईलो गरौ भनेर म देउडा गित र कविता गाउन थाले शुभक सर र नरेन्द्र दाई तालि बजाउन लागे प्रकास सरले हाम्रो सबै गतिबिधि क्यामेरामा कैद गरे ।

असार १६
राती पानी परेकाले मेरो जुता पुरै भिजेको रहेछ । खुट्टामा पालाष्टिक लगाएर जुत्ता लगाए र चियाको चुस्कि लगाई ७ बजे बिहान दोपख्याबाट अगाडि बढ्यौ । शुभकसर, नरेन्द्र दाई र म एक साथ थियौं । बाटो हिड्न सजिलो होस् भनि हामी पालैपालो लगाएर आफ्नो बालापनको कहानी सुनाउँदै थियौ । दोपख्याबाट १ घण्टा अगाडि हिडेपछि पोला पुगिन्छ । पोलामा दुहुँ ५ का एक जनाले आफ्नो होटल संचालन गरेका रहेछन् । गाईबस्तु पालेका रहेछन् । हामीले गाईको दुध र रोटी खाएर त्यहाँबाट अगाडि बढ्यौ । पोलाभन्दा अगाडि करिब १ कि.मि अगाडि भारतले आफ्नो सडक निर्माण गर्नको लागि नेपालमा डोजर छिराएर बाटो काटेको थियो । यसरि दुम्लिङभन्दा माथी भारतले महाकालीबाट नेपाल डोजर छिराएर ठाउँ—ठाउँमा बाटो काटेको थियो । भारतले आफ्नो मनमानि ढंगले नेपाली भूमि माथि डोजर चलाउएको देख्दा आफ्नै छातिमा डोजर चलाएझै मन दुख्यो । राज्यको दृष्टि नपुगेर राज्यको उपस्थिति नभएरै भारतले उत्तरी क्षेत्रमा सीमा अतिक्रमण गरिरहेको छ । दिउँसो १ बजे तिर हामी बुदि पुग्यौ । आकाश जस्तै मैदान देखिने खेत त्यसमाथी रंगीबिरंगी फुल फुलेर झन सुन्दरता थपेको थियो । पारीपट्टि भारतको बुदि गाउँ थियो त्यो गाउँ बस्ने नेपालीलाई बुदियाल भनिन्छ । नेपालको बुदिको जमिनमा पनि भारतीय बुदियालकै भोग चलन छ । भारतको बुदिमा रहेका र दार्चुलाको अपि हिमाल गाउँपालिकाको सितोलामा बस्ने बुदियालको जमिन त्यही रहेछ । बुदिमा एकजना मेरै गाउँका ठुला बुवा नातापर्ने देवसिंह खातीले त्यहाँ गाईबस्तु पालेर होटल संचालन गरेका रहेछन् । दिउँसोको खाना खाएर २ बजे हामी त्यहाँबाट अगाडि हिड्यौ र बुदि भन्दा माथिको बाटो त्यति अपठ्यारो थिएन तर बाटो वरिपरि देखिने प्राकृतिक सौन्र्दयताले कुनै थकान महसुर भईरहेको थिएन । बुदि भन्दा १ घण्टा माथी हिडेपछि हामी अपीहिमाल बाट निस्कने अपि खोलामा पुग्यौ त्यसको पारि पट्टि भारतको छ्यालेक पर्छ । छ्यालेक भन्दा माथि जान पास चाहिन्छ बिना पास जान मिल्दैन् ।
सबै जना पसिनाले भिजेका थियौ तर अपि हिमालबाट आएको सिरसिरे हावाले एकै छिनमा पसिना सुकायो । हामी गफगाफ गर्दै हिडिरहेका थियौ । साझ हामी ५ बजे छाङरु नजिक पुग्यौ । तिपुल च्याक्ती मैदानमा पारि पट्टि भारतको गब्र्याङ गाउँ थियो त्यसकै तल नेपाल भारत जोड्ने सितापुल । तिपुल च्याक्ति मैदान यति फराकिलो थियो कि एक कुनाबाट हेरेपछि अर्को कुनामा नदेखिने त्यसमाथि हरियो दुबो उम्रेको मलाई त्यो तिपुल च्याक्ति मैदानमा पाईला टेक्ने बित्तिकै स्वर्गमै पाईला टेकेको जस्तो आन्नद भयो । त्यहाँको सुन्दरताको बयान म शब्दमा वर्णन गर्न सक्दिैन् । सुन्सेरा देखि त्यहाँसम्म पुग्दा सम्मको थकान सबै त्यहाँको सौन्दर्यताले भुलाएको थियो । पहिलो पटक यति सुन्दर भूमिमा पाईला टेक्दा मन ढक्क फुलेको थियो । एक छिन हामी तिपुल च्याक्तिको मैदानमा बस्यौ । त्यहाँको सौन्दर्यताको तस्बिर प्रकास सरले क्यामेरामा कैद गरे । तिङकरबाट बगेको खोला तरेर हामी छाङरुको गागा पुग्यौ । गागामा सशत्रको बोर्डर आउट पोष्ट छ । हामी बाँस बस्न गागामा रहेको जितसिंह बोहोराको होटलमा गयौ तर होटलमा बाँस बस्न मिलेन् । देशमा कोरोनाले बन्दाबन्दी थियो । बाहिरबाट आएकालाई होटलमा बास बसाउन सकिदैन भन्ने साउनीको जवाफ आयो । हुन पनि उहाँहरुको सुरक्षाले त्यो पनि ठिकै थियो । तर म लगायत हामी पनि आफ्नो जीवनकै प्रवाह गरेरै त्यहाँ पुगेका थियौं । सायद कोरोना भएको भए त्यहाँसम्म पुग्न कसले सक्छ र । थकित हामीलाई पछि सशत्र प्रहरीले त्रिपाल लगाएर बस्ने ब्यवस्था गरिदियो र साझको खाना सशत्र प्रहरीसंगै खाएर सुत्यौ ।

असार १७ गते
बिहान अलि अबेर उठियो ८ बजे तिर । सबैजना हातमुख धुन तिङ्कर खोलाको किनारमा गयौं । हिमालबाट बग्ने स्वच्छ पानि भएकाले अलि अलि चिसो थियो । सशस्त्रका साथीहरुले चिया ल्याए थर्मशमा । चिया पियौं र कालापानी नजिकको गाउँ छाङ्गरुमा सरकारले नयाँ नक्सा जारी गरेपछि त्यहाँका नागरिकको आवाज सुन्न त्यस क्षेत्रको बारेमा बुझुन हामी सशस्त्र प्रहरीसंगै अघि बढ्यौ । खासमा हाम्रो गन्तब्य लिपुलेक, कालापानीसम्म थियो तर अगाडिनै हामी कालापानी लिपुलेक गईरहेका छौं भनेर सार्बजनिक गर्दा एउटा पत्रकारलाई रिपोर्टिङ गर्न कुनै समस्या पर्छकि भनेर हामी कसैलाई जानकार नदिई यात्रा गरेका थियौ । हुन त शुभक सर र नरेन्द्र दाईको त्यो रिपोर्टिङ जोखिम थियो र खोजमुलक, अनुसन्धानमूलक थियो । खोज अनुसन्धान गर्दा गोप्यनै राख्नुपर्छ भनेर हामीले कसैलाई जानकारी दिएनौं र खलंगाबाट गोप्य गरेरै अघि बढेका थियौं । बाटोमा कसैले कतासम्म जादैहो भनेर सोध्यो भन्यो अलिपरसम्म जाने हो भनेर भन्यौ । पहिलो मिसन थियो कालापानीसम्म जाने, र सशस्त्रको सहयोग माग्ने । सोही अनुरुप हामीसँग सशस्त्र प्रहरी पनि जान तयार भयो । बीओपीबाट हामीसँगसँगै केही अघि बढेका थियौं । तर गाउँभन्दा तलतिर महाकाली किनारै भन्दा माथि जंगलको बाटो भएर जाने योजना थियो । तर हाम्रो जाने टोलीलाई गाउँलेले माथिबाटै देखि हाले । एकातिर साहुँजीले राती नै पत्रकारहरु यसरी गाउँमा आएको बारे उनीहरुलाई खबर पुर्याएका रहेछन् । खासगरी विगतमा केही पत्रकारहरुले कालापानी लिपुलेकका अनावश्यक विषय खलंगाबाटै विभिन्न अभियानको नाममा उठाएर जनतालाई सास्ती भएको उनीहरुको पीडा रहेछ ।
हामी छाङ्गरु गाउँमा पुग्ने बित्तिकै गाउँका सबै हामीप्रति सुरुमा निकै आक्रोसित भए । हुन त उनीहरुको भाषाको कारण पनि होला थोरै हामीलाई गारो जस्तो लागेको । प्रकास सरको हातको क्यामेरा देख्ने बित्तिकै हामीलाई पत्रकार हो भनेर भन्न थाले । गाउँका महिलाहरु सबै आएर भन्न थाले पत्रकारहरु रेडियो टि.भि पत्रिकामा कालापानीको बारेमा नानाथरि समचार बनाउनुहुन्छ । यता हामीलाई दुःख हुन्छ । हामीलाई समस्या पर्छ । यहाँ कहिल्यै नपुग्ने, यहाँको अवस्था, हाम्रो समस्या के हो भनेर नसोध्ने ? खाली कालापानी हाम्रो भनेर हुन्छ, माथि जान पाइदैन्, छाङ्गरुसम्म पुग्न नेपालबाट बाटो छैन आदी..आदी …. उनीहरुको आक्रोश थियो । जुन आक्रोश हाम्रो लागि स्वभाविक थियो । हामीले त्यो आवाज रेकर्ड गर्नुपनि थियो । हामीले सबै गाउँलेहरुलाई स्कुलको चौरमा बोलाएर सम्झाउन, हाम्रो उद्देश्य र गन्तव्यको बारेमा बताउन थाल्यौं । हामी तपाईका कुरा सुन्न तपाईका कुरा सरकारसम्म पुर्याउन आएका हौ । कालापानी, लिपुलेकको लागि आएका होईनौ । भनेपछि सबै जनता शान्त भएर बस्न थाले र मैले वडा अध्यक्षलाई फोन गरे । एक छिनमा वडा अध्यक्ष नि आउनुभयो । सबै जनालाई गोल घेरामा बस्न भन्यौ र शुभक सरले सबै जनालाई आफ्नो कुरा राख्न भन्यौ । सबै जनाको एउटै बोली थियो । काठमाण्डौमा कालापानिको नारा लगाउँदा कालापानी क्षेत्रमा बस्ने हामीहरुको चुलो बन्द हुन्छ ? किनकी खाद्यान्न देखि औषधिसम्म सबै समान भारतबाटै ल्याउनुपर्छ । यहाँसम्मकी छाङ्गरु पुग्न पनि भारतकै बाटो भएर आउनुपर्छ । हाम्रो माग कहिल्यै माथि पुर्याइदैन्, तर खाली काठमाण्डौंमा बसेर कालापानी कालापानी मात्रै भन्छन् । वास्तवमा हो पनि । शुभक सरले पुन प्रश्न गरे ? तपाईहरु सरकारलाई के भन्न चाहनुहुन्छ ? भनेर सबैले एउटै बोलिबोले सरकारलाई यहि आग्रह छ कि कालापानी, लिपुलेकको नारा लगाउनुभन्दा पहिले सीमानामा बस्ने हामी सीमाबासीको पीडा ब्यथा सुन्नु, हिड्नलाई बाटो छैन् । ६ महिना छाङ्गरु ६ महिना तिंकर बस्नुपर्छ । खानलाई खाद्यान्न छैन्, हुँदैन् । विगतमा तिब्बतबाट समेत खाद्यान्न आउने गरेकोमा लकडाउनले नाका बन्द गरिएको छ । औषधी उपचार छैन् । लकडाउनले नेपाल भारत जोड्ने सीतापूल बन्द भएर पारी (भारत) जान सकिदैन् । तत्काल खाद्यान्न औषधीको ब्यवस्था गर भनेर सरकारलाई आक्रोस राख्दै आफ्ना कुरा राखे व्यासीहरुले । जुन कुरा हामीले रिर्पोटिंगमा देखाउन खोजेका थियौं, त्यो कुरा छांगरुका नागरिकले दिल खोलेरै बोले । त्यो हाम्रो लागि राम्रो खुराक बन्यो । हामी कालापानी जान हिडेका यात्रीहरुको त्यो दिनको छायांकन पूरै त्यही गाउँमा भयो । काम गर्दै गरेका गाउँले सबै त्यो रिपोर्टिंगमा सक्रिय भएर समय दिए । उनीहरुलाई हामीप्रति विश्वास भयो । हाम्रा आवाज सरकारसँग पुर्याउँछन् । समस्या समाधानको लागि ठोस् पहल हुने आशा विश्वास बढेको थियो ।
आफ्ना ब्यथा सुनाउन पाएपछि आफ्ना कुराहरु सरकारसम्म पुर्याईदिन्छन् भनेर हामीलाई न्यानो आतिथ्यता प्रदान गर्ने तयारी भयो । अघिल्लो दिन त्रिपालमा बसेकोमा उनीहरुलाई दुख लाग्यो । भन्न थाले, होटलमा जानुभन्दा हाम्रो गाउँमा आएको भए दुख हुन थिएन् । अब तपाईहरुको व्यवस्थापन हामी गरिदिन्छौ । उनीहरुको पहिलो भेटको आक्रोश, हामीले दिएको भरोसाले आतिथ्यमा परिणत गरिदियो । हामीलाई गाउँकै सामुदायिक भवनमा बस्ने व्यवस्थापन भयो । दिनभरी त्यहीँका नागरिकसँग छलफल र छायांकनमै समय बित्यो । हामीले अर्कोदिनको योजना बनाउँदै हामी त्यो दिन राती ९ बजे सुत्यौं ।

असार १८ गते
अर्को दिन बिहान अलि ढिला उठ्यौ । ९ बजे तिर बिहानी नास्ता खाएर छाङ्गरुबाट तिंकरतर्फ लाग्यौ । छाङ्गरुको गागाभन्दा १ किलोमिटर माथि छ नेतीकुण्डा । त्यही छ सितापुल प्रहरी चौकी २०७० सालमा बाढी आएर बगाएको सीतापुल अहिले नेतीकुण्डा सरेको छ, त्यही प्रहरी चौकीमा खाना खायौ । त्यहाँ बस्ने प्रहरीको बाँस स्थानको अवस्था देखेर मेरो मन खिन्न भयो । बस्ने चौकीको छानो माटो र प्लाष्टिकले छोएको । न त झ्याल थियो न त ढोका नै । हिउँदमा बाख्रा बस्ने खोर रहेछ । पूरै कोठाभित्र भेडाबाख्राको गोबर देखिन्थ्यो । सीमाका नागरिकको सुरक्षामा बसेका प्रहरी साथीहरुको बस्ने भवनको हालत देखि नसक्नु थियो । सोचे देशको सीमा सुरक्षा गर्न पठाएको प्रहरी आफै सुरक्षित छैनन्, भने हाम्रो देशको सीमा र हाम्रा नागरिक कसरी सुरक्षित होलान् । प्रहरीले आफ्नो दुख पीडा हामी सँगराख्दै न्यानो आतिथ्यता प्रदान गर्दै मिठो खाना खुवाउनु भयो । खाना खाएर हामी तिंकरतर्फ लाग्यौ । तिंकर खोलाको किनारै किनार यताउता देखिने अग्ला पहाड हरियाली बनजंगलको रमणीय दृश्यले हाम्रो यात्रालाई झन् आनन्दीत बनाउदै थियो । बाटो भरि हिउँपहिरो देखिन्थ्यो । अनि हिउँ पहिरोले पूरै नदी छोपेर हिउँ पहिरोकै बीचबाट सुसेल्दै नदी बगिरहेको सुन्दर दृश्य बाटो भरि देखिन्थ्यो । नेतुकुन्डाबाट करिब २ घण्टा हिडेपछि हामी रंकाङ भन्ने ठाउँ पुग्यौ । त्यहाँ एउटा होटेल रहेछ नौगाड घर भएका शंकरसिंह ठगुन्ना जि को । उहाँ २०३६ साल देखि त्यही ब्यापार ब्यवसाय गर्दै आईरहेका छन् । शुभक सरले उहाँ सित भलाकुसारि गर्नु भयो र हामीले चाईनिज जुस खायौ र अगाडि बढ्यौ । प्रकास सर बाटो भरि देखिने सुन्दर दृश्यहरु क्यामेरामा कैद गर्दै थिए र शुभक सर,म र नरेन्द्र दाई एक साथ गफगाफ गर्दै एक साथ हिडिरहेका थियौ । हामी ४ बजे तिंकर गाउँमा पुग्यौ । छाङरु गाउँभन्दा करिब ८ किलोमिटर टाढा रहेछ तिंकर गाउँ । छाङरु भन्दा झन बिकट र बिकासको तुलनामा पछाडि परेको रहेछ तिंकर गाउँ । नेपालको उत्तरी क्षेत्रतर्फको अन्तिम गाउँ हो तिंकर । प्रकास सरले त्यहाँको सुन्दरतालाई आफ्नो क्यामेरामा कैद गर्यो । हाम्रो गन्तब्य छ्यालेक भएकाले हामी छ्यालेकतर्फ लाग्यौ । तिंकर देखि छ्यालेकसम्म जाने बाटो निकै रमणिय र ग्रामीण सडक झै फराकिलो थियो । उक्त बाटो पंचायत कालमा बनेको थियो र त्यही बाटो प्रयोग गरि ब्यापारीहरु चीनको तंङ्लाकोटको ब्यापार गर्ने गर्दथे । छ्यालेक भन्दा तल मैदान भरि रंगिबिरंगी फुलहरु फुलेका थिए । यस्तो लाग्यो कि त्यो धर्ती नै फुलको हो । एकछिन प्रकास सर र म ति फुलहरुको काखमा आफ्नो थकान मेटाउन बस्यौ, । र हामी ७ बजेतिर छ्यालेक प्रहरी चौकीमा पुग्यौं । बाटो भरि पसिनाले भिजेको शरीर त्यहाँ चल्ने शिरशिरे हावाले एकै छिनमा सुकायो । छयालेक पूहरी चौकीको हालत पनि दर्दनाक थियो । न ब्यारेकको संचार र बिजुलीको कुरा त छोडौ । ब्यारेकको ढोका न शौचालय न खानेपानी एउटै कोठामा भान्सा एउटै कोठामा ब्यारेक एउटै कोठामा जवानदेखि हाकिमसम्म सुत्नुपर्ने । त्यहि व्यारेकमा हामीले पनि आश्रय लिनुथियो । २०७२ सालमा छ्यालेक प्रहरी चौकी खलंगा झरेको मौकामा तस्करहरुले चौकीको भवन जलाएको रहेछ । छ्यालेक हुदै तस्करहरु तिब्बतसम्म पुग्छन् । अभावका बीच देशको सीमा सुरक्षा, माटोको रक्षा गर्न जनताको सुरक्षा गर्न आफ्नो ज्यानको प्रवाह नगरि दुख कष्ट नभनी कर्तब्यनिष्ठ भएर डिउटि गरिरहेका प्रहरी प्रति मनमा संम्मान जागेर आयो । भोलि बिहान सबेरै उठेर हामीले चीनसंग सीमाना जोडिएको १ नम्बर पिलर लिपुलेक भज्याङ जानुपर्ने थियो । पिलर पुग्न बिहान जति चाडो जान सक्यों त्यति सजिलो हुने हामीलाई जानकारी थियो । सकेसम्म त्यो पिलरमा मध्यान्ह १२ बजे अगावै पुग्न सके प्रष्ट ठाउँ देखिने, हावा कम लाग्ने गथ्र्यो । त्यही भएर बिहानै हिड्ने योजनाका साथ रातीको खाना खाएर ९ बजे नै सुत्यौ ।

असार १९ गते
बिहान ३ बजे सुर्यका किरणले धरतीमा पाईला नटेक्दै हामी सबै उठ्यौ । बिउझिएर छ्यालेकबाट प्रहरीको टोलीसंगै १ नम्बर पिलरतर्फ लाग्यौ । रातीको सुन्दर सपना, पिलरसम्म पुग्ने पहिलो धोको थियो । अर्कोतिर त्यहीबाट उच्च हिमाल चढ्न अक्सिजन अभाव हुन सुरु गर्छ । स्थानीय भाषामा लेक लाग्न सुरु हुन्छ । करिब ५५०० मिटर देखि ६००० मिटर सम्मको उचाईमा रहेको नेपाल चीनको सीमा स्तम्भ १ नम्बर पिलरमा पुग्ने गरी यात्रा सुरु भयो । हामी १० बजे भन्दा पहिला नै त्यहाँ पुगेर फर्किने उदेश्यले हाम्रो यात्रा सुरु भएको थियो । बिहानको सिरसिरे हावा संगै मिरमिरे उज्यालोमा । छ्यालेक देखि १ नम्बर पिलरसम्म पुग्न करिब ४ देखि ६ घण्टा जति हिड्नुपर्छ । जतिजति माथिमाथि गयो त्यति धेरै लेक लागेर स्वास फेर्न गारो हुनेभएकाले हामी बिहानै ३ बजेको मिरमिरेमा हिड्यौ । छ्यालेक प्रहरी चौकीका ईन्चार्ज हर्क महता सर निकै जोसिला हुनुहुन्थो । उहाँकै पाईलामा पाईला मिलाएर हिडिरहेका थियौ । शुभक सर पहिलो पटक २०७२ सालमा १ नम्बर पिलर जानु भएको थियो । शुभक सरको दोस्रो र नरेन्द्र दाई,मेरो र प्रकाश सरको पहिलो यात्रा थियो १ नम्बर पिलर सम्मको । करिब ३ घण्टाको उकालो हिडेपछि हामी टाटा पुग्यौ । तिब्बत सम्राट दलाई लामा र नेपाली फौजबीच भएको युद्ध हुँदा खम्पा काण्डको जिउँदो साक्षि थियो टाटा । अझै पनि त्यस क्षेत्रमा गोली बमका निसानाहरु पाईन्छन् । तिब्बतिहरु भागेर आउँदा ल्याएको सुनहरु अझै टाटा क्षेत्रमा जमिन मुनि पाइने गरेको सुनिन्छ । छयालेकबाट लगेको नास्ता हामीले टाटामा खायौ र १५ मिनेट जति छ्यालेकमा बिश्राम गरेपछि हामी अगाडि बढ्यौ । टाटाभन्दा माथिको यात्रा निकै सकसपूर्ण थियो । टाटाबाट अलि माथि हिडेपछि क्यामरा प्रश्न प्रकाश सरलाई लेक लाग्न थाल्यो । हिड्न नसकेर त्यहीबाट फर्किए । र शरभक सर,म,नरेन्द्र दाई प्रहरीको टोलिको साथमा बिस्तारै हिड्न थाल्यौ । उकालो चड्नुपर्ने भएकाले हल्का सास फेर्न गारो भईरहेको हुनाले हामी नबोली चुपचाप हिडिरहेका थियौ आफ्नै गतिमा । माथिल्लो टाटाको उकालो चडेपछि मलाई र शुभक सर लाई पनि हिड्न गारो हुन थाल्यो । दायाँबायाँ हिमालै हिमाल हुनाले हिमालबाट आउने चिसो हावाले हातका औला कठ्याङग्रि सकेका थिए । सास फेर्न निकै गारो भैरहेको थियो । हर्क महता सरले मलाई आफनो टेक्ने लौरो दिएर हिडाउनु भयो । लौरो टेकेर हिड्दा अलिकति हिड्न सजिलो भयो नरेन्द्र दाई र अरु प्रहरी साथीहरु मज्जाले हिडिरहेका थिए । शुभक सर र मलाई हर्क महता सर र हाम्रो भरिया ज्ञानसिंह खत्रीले सहारा दिदै हिडाईरहेका थिए । मलाई निकै गारो भैरहेको थियो । मुटु नै फुटाउने कठ्याङग्रिदो चिसो । त्यसमाथि छमछम दर्किरहेको पानि । छाता ओडे छातानै उडाउने हावा चलिरहेको थियो । निकै सकसपूर्ण यात्रा गरेर हामी करिब दिउँसो १ नम्बर पिलरमा पुग्यौ । त्यहाँ नेपाल र चीन बिचको सीमा स्तम्भ थियो । तिब्र गतिमा चलिरहेको हावाले हामीलाई निकै त्यहाँ बस्न सकस भईरहेको थियो । २०१८ सालमा गाडिएको सीमाको पहरेद्धार, सीमा रक्षक यो स्तम्भले नै बलियो चीनलाई एक ईन्च पनि नेपालको भूमी अतिक्रमण गर्नबाट रोकेको छ । १ नम्बर पिलरबाट करिब १ घण्टा जति ओरालो झरेपछि चीनको ताङलाकोट बजार पुगिन्छ । नेपालको उत्तरपश्चिम क्षेत्रका ब्यापारिहरु नेपालबाट चिनी ,मिस्रि, नुन, आदी समानहरु ताङलाकोट लगेर बिक्रि गर्ने र त्यहाँबाट लत्ता कपडा आदी समना ल्याउने गर्छन् । तर हाल लकडाउनका कारण यो नाका बन्द छ । १ नम्बर पिलरबाट ६ कि.मि उत्तरतर्फ पर्छ लिपुलेक । हामीले १ नम्बरबाट लिपुलेक जान पाईला अगाडि बढायौ तर मान्छे नै उडाउने गरि अलिरहेको हावाले हिउँ उडाएर बाटो अवरोध गरिरहेको थियो लिपुलेक जान नसकेपछि हामी फर्किएर छ्यालेक नै आयौ ।

कालापानि तर्फको यात्रा
असार २० गते हामी छ्यालेकबाट छाङगरु फर्किएपछि २१ गते बिहानै हामी महाकालीको किनारै किनार कालापानीतर्फ लाग्यौ । छाङ्गरुबाट करिब १२ कि.मि पुर्वमा पर्छ कालापानी । नेपाल सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटेर नयाँ नक्सा प्रकाशन गरेपछि भारत सरकारले त्यसक्षेत्रमा सुरक्षा सर्तकर्ता बढाएको छ ।

भारतले सितापुलदेखि कालापानीसम्म ५।५ किमिको दुरिमा अअतख क्यामेरा जडान गरेर निगरानि गर्ने गरेको छ । हामी गागामा रहेको सशस्त्र प्रहरीलाई समेत जानकारी नदिई गएका थियौ । भारतले कालापानि क्षेत्रलाई निषेधित क्षेत्र घोषण गरेको हुदाँ त्यहाँ जान जोखिम हुन्छ भन्दै हामीलाई सशस्त्र प्रहरीले त्यहाँ जान रोकिरहेको थियो । त्यहाँ गए भारतीय सैनिकहरुले गोलि हान्न सक्ने सम्भावना थियौ । तै पनि हामी ज्यानको प्रवाह नगरी मरे कालापानीकै काखमा रगत बगाउँला भन्ने अठोटका साथ हामीले पाईला कालापानितर्फ बढायौ । प्राकृतिक दृष्टिले रमणीय एवं धार्मिक दृष्टिले ऐतिहासिक भूमि थियो कालापानी । सन् १९६२ साल देखि नेपालको नाभि,गुन्जि,कुटि क्षेत्रलाई अतिक्रमण गरेर भारतीयले आफनो कब्जा गरिरहेको छ । तल्लो कौवामा पाईला टेक्ने बितिक्कै मन ढक्क फुलेर आयो यस्तो लाग्यो हामी धर्तिको सुन्दर कुनामा आएका छौ । चारैतिर हरियाली पहाड भएपनि चलनभोग भने भारतीयहरुकै छ । अहिले कौवासम्म सशस्त्रको नियमित गस्ति भएर मात्रै । बिचमा कौवाको फराकिलो दुबो उम्रिएको मैदान । २०२७ सालमा कौवामा ब्याँस प्रहरी चौकीको स्थापना भएपनि हाल त्यहाँ प्रहरी चौकीको भवन छैन् । लालपुर्जामा कौवाको जमिन नेपालीहरुको कौवामा भारतीय सैनिकहरुले काठ तस्करी गर्न छोडेको छ । तल्लो कौवाको पारि पट्टिपर्छ गुन्जि जहाँ अहिले भारतीय शैनिकका ब्यारेकहरु रहेका छन् । गुन्जिकै पश्चिम किनारामा पर्छ लिम्पियाधुराबाट बग्ने नदि (सक्कलि महाकालि)र कालापानिबाट बग्ने तिस्नि खोला(भारतले भनेको नक्कली महाकालि)को दोभान । १९६८ सालमा नेपाल भारत बिच भएको सुगौलि सन्धिअनुसार लिम्पियाधुराबाट बग्ने नदी नै नेपाल भारतको सीमा नदी हो भनेको छ । तर भारले लिम्पियाधुराबाट बग्ने नदीलाई सीमानदि नमानी कालापानीबाट बग्ने खोलालाई महाकाली नदी दाबि गरेर कालापानीबाट बग्ने खोलाभन्दा पुर्वको नाभि,गुन्जि,कुटि सम्मको क्षेत्रलाई कब्जा गरेर भारतीय सैनिकले परेड खेल्ने मैदान बनाएको छ । नरेन्द्र दाई र शुभक सरले त्यहाँको सम्पूर्ण गतिबिधि क्यामेरामा कैद गरिरहेका थिए । हामी माथिल्लो कौवाबाट अगाडि बढ्यौ हामीलाई कुन बेला भारतीय सैनिकले गोली हान्छ पत्तो थिएन । हामीलाई आफ्नै समारिक महत्व बोकेका पवित्र भूमिमा पाईला टेक्न पाउँदा छाति फुलेर आएको थियो । हामीलाई गुन्जिबाट भारतीय सैनिकहरुले निगरानि गरिरहेका रहेछन् । हामी माथिल्लो कौवाबाट अगाडि बढेपछि हतियार सहित २०—२२ जना भारतीय सशस्त्र प्रहरीहरु कालापानि गएका रहेछन् । हामीलाई रोक्नको लागि तर हामीलाई थाहाँ थिएन । हामीलाई भारतीय शैनिकले निगरानी गरिरहेको छ भनेर । माथिल्लो कौवाबाट करिब १ किलोमिटर जति अगाडि बढेपछि परबाट १ जना सिभिल मान्छे आएर हामीलाई भन्यो, आप कौन हैं कहाँ जारही हो –को हो तपाईहरु कता गइरहेका छौ ? यस्तायस्तै आदि ईत्यादी प्रश्नहरु एकोहोरो सोधेर हामीलाई हप्काउन थाल्यो । हामीले पनि तपाई को हो हामी आफ्नो भूमिमा आएका हौ । हामीलाई रोक्ने तपाई को हो ? भनेर प्रतिप्रश्न गर्यौ । हाम्रो बिवाद भईरहेका बेला पछाडिबाट हतियारसहित २० जना जति भारतीय सैनिक आएर हामीलाई घेर्यो र काधमा दुई फुलि भएको सैनिक आएर हामीलाई माथिको आदेश छ यो ठाउँमा बिना जानकारी आउने जो कोहिलाई पनि नियन्त्रणमा लिनु भन्ने छ भन्दै हाम्रो मोबाईल क्यामेरा खोस्यो र फोटो भिडियो डिलिट गर्न लगायो । हामीले पनि धेरै बिवाद नगरी भारतीय सैनिकहरुसित मित्रत्रापूर्वक ब्यहार गर्दै शुभक सरले भन्यो । आफ्नो भुमि सबैलाई प्यारो लाग्छ तर नेपाल र भारतको सम्बन्धमा दुई देशको सम्बन्ध सदियौ पुरानो छ र दुई देशका नागरिकहरु एक आपसमा लडेर सीमा समस्या समाधान हुदैन् । यसको लागि दुबै देशको सरकारले कुटनैतिक छलफल गर्नु पर्ने हो । भारतीय सशस्त्र प्रहरीहरुले हामीलाई कालापानिसम्म जान नदिएपछि हामी कालापानि भन्दा २०० मिटर वरैबाट आफ्नै भूमिमा जानको लागि बिदेशिले रोकेको पिडा बोकेर फर्कियौ ।
नेपाल सरकार अतिक्रमित भूमि नाभि,गुन्जि,कुटि समेटेर नक्सा जारी गरेर मख्ख छ तर नयाँ नक्सा जारि गरेपछि भारतले झन सीमा अतिक्रमण गरेको छ । पोहोरसम्म कालापानीको मन्दिरसम्म नेपालका प्रहरीहरु बर्दिमै पुग्ने गर्दथे, तर अहिले नेपाल सरकारले नयाँ नक्सा जारी गरेपछि कालापानीको मन्दिरमा भन्दा ३०० मिटर वरै भारतीय सुरक्षा फौजले आफ्नो क्याम्प बनाएर कालापानी जान रोकिरहेको छ । बन्दुकको नाल अगाडि हाम्रो घुडा अघि बढ्न सकेन्, तर हाम्रो मातृभूमि कालापानी पुग्ने सपना अहिलेलाई अधुरै छ । तर हामी हारेका छैनौ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !