अखण्डता अझै सान्दर्भिक

583

देशभर एकता दिवश तथा पृथ्वी जयन्ती मनाई रहँदा एकथरी अतिवादले अंकुरण हुने मौका पाएको छ । तत्कालीन राजा पृथ्वीनारायण शाहको जयन्तीको अवसरमा राजसंस्थाको पक्षमा वकालत गर्ने अतिवादी शक्तिले आफूलाई सडकमा सार्वजनिक गर्यो । संविधानमा उल्लेख नै नभएको राजसंस्थाको पक्षमा सडकमा प्रर्दशन गर्ने र मधेशलाई भिन्न राज्य बनाउँछु भन्दै अभियान चलाउने शक्तिहरुबीच संवैधानिक हिसाबले के भिन्नता रह्यो ? अझ चर्को कुरा त के भन्दा संविधान मै नभएको राजसंस्थाका पक्षघरहरुले यसलाई एकता दिवशका रुपमा वकालत गरी आफूलाई राष्ट्रिय एकताका पक्षधर भन्छन् भने संविधानमा नभएको स्वतन्त्र मधेशको चर्चा गर्नेलाई उनै फेरी बिखण्डनवादी भन्छन् । यी दुबै अतिवादले वर्तमान राज्य व्यवस्थालाई चुनौति दिने कुरा अहिलेको राज्यव्यवस्थाका पक्षधरहरु सचेत हुनु जरुरी छ ।
नेपाल राष्ट्रको निर्माणका सन्दर्भमा पृथ्वीनारायण शाहको योगदानको वारेमा धेरै उल्लेख गर्नु आवश्यक छैन । राष्ट्रको आधार निर्माण गर्ने मात्रै नभएर कालान्तरसम्म राष्ट्रका रुपमा नेपाललाई कायम राख्ने कामको थालनी नै उनले गरेका हुन् । यद्यपि पछिल्लो सयम वृहत नेपालको कुरा उठेपनि वृहत नेपालका एकीकरणकर्ताहरुका वारेमा खासै चर्चा हुदैन । यहासम्म कि वृहत नेपाल पृथ्वीनारायण शाह कै पालामा एकीकरण भएको हो भन्ने बुझाई अध्ययन नगरेका नयाँ पुस्तामा छ । पृथ्वीनारायण शाहले लमजुङ्, मकवनापुर र उपत्यका कब्जा गरेर वृहत नेपाल निर्माणको आधार तयार पारेका हुन् तर बाईसी चौविसी राज्य मात्रै नभएर पश्चिमका अल्मोडा, कुमाउ र गडवाललाई समेत परास्त गरेर वृहत नेपाल निर्माण गर्ने क्रममा बहादुर शाह र राजेन्द्रलक्ष्मीको नाम कहि कतै लिइएको पाइँदैन । वास्तविकता हेर्ने हो भने पृथ्वीनारायणले थालनी गरेको नेपाल एकीकरणको महत्वपूर्ण जिम्मेवारी उनका कान्छा छोरा बहादुर शाह र जेठी बुहारी राजेन्द्रलक्ष्मीले पूरा गरेको देखिन्छ । यसको अर्थ नेपाल एकीकरणको जस पृथ्वीनारायण शाहलाई दिनु हुन्न भनेको होइन तर वास्तविकता भने बिर्सिनुहुन्न । हामीले वास्तविकता बिर्सिदा वर्तमानमा अतिवादीहरु प्रफुल्लित हुने अवस्था छ । जब हामी यथार्थ धरातल बिर्सिन्छौ तब कयनले खेल्ने मौका पाउँछन् र राष्ट्र अस्थिरतातर्फ अग्रसर हुन्छ ।
प्रधानमन्त्रीले पृथ्वीनारायण शाह नभएको भए नेपालको कल्पना पनि गर्न सकिन्थ्यो भने कुरा सार्वजनिक गरेर धेरै अतिवादीहरुको मुख थुनेको हुनु पर्दछ । प्रधानमन्त्रीले यो भन्नुको अर्थ अहिलेको राज्यव्यवस्थाले पनि उनलाई बिर्सेको छैन भन्ने हो तर कयनले पृथ्वीनारायणलाई आफ्नो पेवा सम्झेका छन् र कयनले उनलाई उपेक्षा गर्दै हिडेका छन् । यी दुबै पक्ष राष्ट्रहितमा हुन सक्दैनन् । कोही पेवा सम्झने र कोही उपेक्षा गर्दै हिड्ने अवस्थाले अर्को अस्थिरतातिर संकेत त गरेको होइन ? हामी गम्भीर हुनु जरुरी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !